ककनी, ६ जेठ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले जुनसुकै पार्टीमा लागे पनि देशलाई धनी बनाउने र जनतालाई सुखी बनाउने अभियानमा लाग्नुपर्ने बताएका छन ।
सोमबार पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेलाको तेस्रो दिन प्रदर्शनीस्थल नुवाकोटको ककनी गाउँपालिका ४, रानीपौवामा आयोजित सभामा बोल्दै उपप्रधानमन्त्री पोखरेलले जनता सुखी भएनन् भने क्रान्तिकारी विचार बोक्नाको कुनै अर्थ नरहेको उल्लेख गरेका छन ।
उनले भने, ‘जुनसुकै पार्टीमा लागे पनि देशलाई धनी बनाउने र जनतालाई सुखी बनाउने अभियानमा लाग्नुपर्छ । यसका लागि हामी काँग्रेससँग पनि सहकार्य गर्न चाहन्छौँ । विकासनिर्माणमा हातेमालो गर्न चाहन्छौँ । अहिले देशले खोजेको यही हो ।’
उपप्रधानमन्त्री पोखरेलले व्यावसायिक कृषिलाई महत्व दिएर किसानलाई सहुलियत दिइने र स्वदेशमा आवश्यक हुने उत्पादन यहीँ उत्पादन गर्ने नीतिमा जानुपर्ने बताउदै उनले भने, ‘आफ्ना विचारका आधारमा जनतामा गएर विश्वास जितेर राज्यसत्ता सञ्चालनको जिम्मेवारीमा आउने बाटो सबैलाई खुला छ । विचारका आधारमा कोही दण्डित हुनुपर्ने छैन । त्यसैले अब आर्थिक समृद्धि, पर्यटन विकास र उत्पादनका क्षेत्रमा सबै दल, नागरिक समाज र व्यक्तिहरु लाग्नुपर्छ ।’
उक्त प्रदर्शनी मेलामा जिल्लाका १२ वटै स्थानीय तहका कृषि उत्पादन र आधुनिक उपकरण राखिएको छ ।










प्रतिक्रिया दिनुहोस्