काठमाडौँ, ११ जेठ । नेपाली सेनाको उदयपुरस्थित कालिसिद्धी गणका प्रमुख सेनानी केशवराज कार्की बर्खास्तीमा परेका छन् ।
आर्थिक अनियमिततामा मुछिएपछि जनरल समरी सैनिक अदालतले कार्कीलाई दोषी ठहर गर्दै सेवाबाट बर्खास्त गरेर ३ महिना कैद र अनियमितता भए बराबरको रकम फिर्ता गराउन शुक्रबार आदेश दिएको हो ।
आदेशलगत्तै उनलाई केन्द्रीय कारागार ९जगन्नाथदेवल० चलान गरिएको स्रोतले बतायो । नेपाली सेनाको जंगीअड्डा स्रोतका अनुसार कार्कीले कालिसिद्धी गणमा रहँदा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको रकम अनियमितता भन्दै वैशाख पहिलो साता उजुरी परेको थियो ।
उजुरीपछि गठन भएको ‘कोर्ट अफ इन्क्वाइरी’ले प्रमुख सेनानी कार्कीको कैफियत देखाउँदै ‘कोर्ट मार्सल’ का लागि सिफारिस गरेको थियो । जसको आधारमा २३ वैशाखमा समरी जनरल सैनिक अदालत गठन भएको थियो ।
अदालतले कार्कीलाई थुनामा राखेर कारबाही प्रक्रिया अघि बढाएको थियो । छानविनपछि प्रधानसेनापति पूर्णचन्द्र थापालाई निष्कर्ष सुनाइएको थियो ।
थापाबाट अदालतको फैसला सदर भएपछि शुक्रबार आदेश सुनाइएको सैनिक स्रोतको दाबी छ ।










प्रतिक्रिया दिनुहोस्