काठमाडौँ, ११ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजको आधारभूत तहमा जरा गाडेर बसेको गलत सामाजिक, सांस्कृतिक मान्यता र परम्परालाई ध्वस्त पार्नुपर्ने बताएकी छन ।
शनिबार बुढानीलकण्ठ नगरपालिका–७ हात्तीगाँैडामा मानवअधिकारको लागि एकल महिला समूहको नवनिर्मित छहारी भवनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले राज्यले सुनिश्चित रहेको सामाजिक परिवर्तन र समृद्धिको यात्रामा धैर्य, साहस, सुझबुझ रुपमा समाजलाई परिचालित गर्ने चेतनशील र जागरुक समुदाय अग्रसर हुन आवश्यक रहेको बताएकी हुन ।
उनले भनिन, ‘सदियाँैदेखि समाजको आधारभूत तहमा जरा गाडेर बसेको गलत सामाजिक तथा सांस्कृतिक मान्यता र परम्परालाई ध्वस्त पार्न अझै ठूलो परिश्रम र मिहेनत गर्नुपर्छ ।’
मौलिक हकको रुपमा संविधानमै असहाय र एकल महिलाको लागि सामाजिक सुरक्षाको व्यवस्था रहेको बताउदै उनले भनिन, ‘मुलुकमा महिला उत्थान र विकासका लागि सकारात्मक विभेद नीति र कानूनसमेत तर्जुमा भएका छन्, देशमा रहेका सामाजिक र सांस्कृतिक कुरीति, कुसंस्कार र कुप्रथाको अन्त्य गर्ने संवैधानिक सङ्कल्प छ ।’
उक्त समारोहमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राजनीतिक र संवैधानिक दृष्टिकोणले आधारभूत रुपमा समाजमा भेदभाव टुङ्गिए पनि सामाजिक, सांस्कृतिक र आर्थिक पाटोबाट भने भेदभाव अझै हट्न बाँकी नै रहेको बताउदै उनले भने, ‘सामाजिक चेतना र जागरणका माध्यमबाट समाजमा देखिएका विभेद अन्त्य गर्नेतर्फ हाम्रो प्रयास छ । यसका लागि सामाजिक अभियान चलाउनुपर्छ ।’










प्रतिक्रिया दिनुहोस्