राजनीति

प्रदेश ३ को नीति तथा कार्यक्रम : ‘प्रदेश ३ को इच्छा : छोरी बुहारीलाई उच्च शिक्षा’



मकवानपुर, १५ जेठ । प्रदेश नम्बर ३ सरकारले आगामी आर्थिक वर्ष २०७६–०७७ का लागि मंगलबार प्रदेश सभामा नीति तथा कार्यक्रममा ‘प्रदेश ३ को इच्छा : छोरी बुहारीलाई उच्च शिक्षा’भन्ने नारालाई विशेष प्राथमिकता दिएको छ ।

प्रदेश प्रमुख अनुराधा कोइराला र प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । सञ्चाारकर्मीहरुका लागि क्षमता विकास कार्यक्रम तथा महिला सञ्चारकर्मीहरुका लागि पेशागत सुरक्षासम्बन्धी विशेष कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । ‘प्रदेश ३ को इच्छा स् छोरी बुहारीलाई उच्च शिक्षा’ भन्ने नाराका साथ आगामी आर्थिक वर्षमा लोपोन्मुख, अल्पसंख्यक र अति सिमान्तकृत वर्ग तथा समुदायका लागि कार्यक्रम ल्याइने छ ।

उनीहरुका लागि सरकारी तथा सामुदायिक क्याम्पसमा अध्ययनरत गरिब तथा जेहेन्दार छात्रालाई स्नातक र स्नात्तकोत्तर तहको अध्ययनको लागि निःशुल्क व्यवस्था गरिने छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा चालु आर्थिक वर्षका केही महत्वपूर्ण कार्यक्रमलाई निरन्तरता दिने र अरु केही नयाँ कार्यक्रम थप गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

यसअघि संघीय सरकारले ल्याएका नीति तथा कार्यक्रम र प्रदेश सरकारले ल्याएका नीति तथा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन नभएपछि यसको पूर्ण रुपमा कार्यान्वयन गर्नका लागि प्रदेश ३ सरकारले फलोअप डेस्कको स्थापना गर्ने भएको छ ।

कृषि उत्पादनलाई उब्जनी स्थलदेखि बजारसम्म पुर्‍याउन पहुँच स्थापित गर्ने काम गरिने भएको छ । किसानलाई ध्यानमा राखेर कृषि सडक निर्माणलाई प्राथमिकता दिने सरकारको योजना छ । प्रत्येक जिल्लामा कम्तीमा एक–एक वटा एकीकृत कृषि पर्यटन कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ ।

प्रदेश सरकारले सार्वजनिक प्रशासनमा शासकीय स्वच्छता कायम गर्न भ्रष्टाचारविरुद्धको रणनीति २०७५–७९ जारी गरिएको मुख्यमन्त्री पौडेलले बताउनुभयो । भ्रष्टाचारविरुद्धको अभियानलाई थप परिणममुखी बनाइने सरकारको योजना छ ।