समाचार

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम रोकियो



चितवन, १६ जेठ । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य रोकिएको छ ।

धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल९धुर्मुस०ले विज्ञप्ति निकालेर तत्कालको लागि निर्माण कार्य स्थगित गरेको जानकारी गराउनुभएको छ । निर्माणस्थलमा लगाइएको बार केही स्थानीयले भत्काएपछि निर्माणको काम रोकिएको छ ।

बुधबार बिहान डोजरसहित आएका केही व्यक्तिले जस्तापाताले लगाएको बार भत्काइदिएपछि काम गर्ने वातावरण नभएकाले काम स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ । कर्मचारी, कामदारको जिउ ज्यान, भौतिक सम्पतिको सुरक्षाको विषयमा खतरा र गम्भीर परिस्थितिको सिर्जना भएको हुँदा यो सम्बन्धमा स्थायी समाधान र काम गर्ने वातावरण तयार नभएसम्मका लागि कामकारवाही स्थगित गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

रंगशाला निर्माणको काम सुरु गरेदेखि नै कार्य वातावरणमा असहजता सिर्जना गर्ने, विभिन्न अनुचित माग राख्ने र फाउण्डेशनका कर्मचारी तथा सहयोगीहरुलाई धम्क्याउने लगायतका अनुचित कार्य भैरहँदा पनि चितवनवासीको सम्मानमा चोट नपुगोस् भनेर यस्ता गतिविधिलाई सामान्य रुपमा लिँदै काम अघि बढाइरहेको अवस्थामा अहिले सुरक्षा माथि नै चुनौती बढेपछि बाध्य भएर काम रोक्नु परेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।