सम्पादकीय

जग्गा प्लटिङ गर्न डाँडामा जथाभावी डोजर



स्थानीय सरकारको स्वीकृति नै नलिई व्यवसायीहरूले बूढानीलकण्ठ नगरपालिकामा जथाभावी जग्गा प्लटिङ गरेका छन् ।

आफूखुसी डोजर लगेर पहाड खारिए पनि नगर र वडा कार्यालयले नियन्त्रण गरेका छैनन् । नगरप्रमुख उद्धव खरेलका अनुसार अनधिकृत प्लटिङको यकिन तथ्यांक नभए पनि कम्तीमा एक हजार रोपनीमा डोजर चलाइएको छ ।

मापदण्डअनुसार जग्गाधनीले भिरालो पाखामा डोजर प्रयोग गर्नुपर्ने भए नगरको पूर्वस्वीकृतिमा वडाबाट सिफारिस लिनुपर्छ। स्थानीय सरकारको नियम र उपत्यका विकास प्राधिकरणको मापदण्डमा स्वीकृति लिएर डोजर चलाउँदा पनि सँगैको जग्गालाई असर नगर्ने गरी केही भाग मात्रै मिलाउन पाइने उल्लेख छ।

खोला, खोल्सी तथा सार्वजनिक सिमानाको लागि ४ मिटर छुट्याउनुपर्ने, बाटो २० फिट राख्नुपर्ने तथा ९० डिग्रीभन्दा भिरालो जमिनमा डोजर लगाउनुपूर्व प्राविधिकको सल्लाह लिनुपर्छ। तर, यहाँका अधिकांश प्लटिङ मापदण्डभित्र नरहेको वडा नम्बर १, २, ५ र १३ ले स्विकारेका छन् ।

उपत्यका विकास प्राधिकरणका अनुसार ३० प्रतिशतभन्दा माथिको भिरालो भागमा प्लानिङ गर्न मिल्दैन । कसैले यो मापदण्ड मिचे ऊक्त व्यत्तिको जग्गा रोक्का गरिदिने व्यवस्था छ। भूमाफियाहरुले ढिस्को भत्काउनुपर्‍यो भन्दै प्लटिङ गर्ने गरेको प्राधिकरणका सूचना अधिकारी केशवप्रसाद न्यौपानेले बताए ।

वडाका अधिकारीहरू कसैले उजुरी नै दिन नआएकाले कारबाही गर्न नसकिएको दाबी गर्छन् । आफूले सबै ठाउँ अनुगमन गर्न नभ्याएकाले बेथिति बढेको नगर प्रमुख खरेलले बताए । कान्तिपुर दैनिकले समाचार छापेकाे छ ।