समाचार

चिउरा अड्किएर बालकको मृत्यु



विराटनगर, १८ जेठ । मोरङमा ११ वर्षीय बालकको चिउरा अड्किएर मृत्यु भएको छ ।

कानेपोखरी गाउँपालिका–५ रमाइलो बजार नजिकै रहेको मकालु मोरङ इङलिस स्कुलमा अध्ययनरत ११ वर्षीय बालक आर्यन माझीको मृत्यु  भएको  प्रहरीले जनाएको छ ।

बुबा सम्पर्कबिहीन र आमा वैदेशिक रोजगारीको सिलसिलामा इराक पुगे पछि आर्यन मावलीको हजुरआमासँग बस्दै आएका थिए । माझीले दिउँसो टिफिनमा खाजा खाएपछि बिरामी भएका थिए । आर्यनले टाउको दुख्यो भन्दै बान्ता गरेपछि शिक्षकले अफिसमा लगेका थिए । त्यहाँ पनि उनले पटकपटक बान्ता गरे ।

नजिकै मेडिकल हलहरु भए पनि शिक्षकले लगेनन्, आफैंले फ्लेक्जोन खुवाए । औषधी खुवाएर प्रिन्सिपल टेइन्द्रकुमार बास्तोला कक्षा कोठातर्फ लागे । ४० मिनेटको कक्षा सकाएर अफिसमा आउँदा आर्यन बेहोस भइसकेका थिए । त्यसपछि उनले अस्पताल लैजान एम्बुलेन्स बोलाए । बच्चा बिरामी भएको डेढ घण्टापछि अर्थात साढे ३ बजे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याइयो । एक घण्टाको प्रयासपछि अस्पतालले बालकलाई मृत घोषणा गर्‍यो ।

बालकको स्वास्थ्यमा स्कुलले चासो नदिँदा मृत्यु भएको स्थानीय बताउँछन् । बालक बिरामी हुँदा मेडिकल हल नलगेर आफैं औषधि दिएर अफिसमा राख्नु गल्ती भएको उनीहरु बताउँछन् ।

बच्चाको मृत्यु भएपछि अनुसन्धान सुरु गरेको र पोष्टमार्टम रिपोर्ट आएपछि थप विषय खुल्ने इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।