राजनीति

कसैको कुरा सुन्ने र मान्ने भन्दा पनि अन्तरमनको निर्णयबाट सफलता चुम्न सकिन्छ : सांसद बस्नेत



भक्तपुर, १८ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले कसैको कुरा सुन्ने र मान्ने भन्दा पनि अन्तरमनको निर्णयबाट सफलता चुम्न सक्ने बताउनुभएको छ ।

आज चारदोबाटो पुलदेखी बालकोट चोकसम्म जाने भिआइपी सडक विस्तारको शिलान्यास गर्दै सांसद बस्नेतले स्थानीय जनताको भावना तथा व्यवहारिकतालाई आधार बनाई सडक निर्माणका समस्या समाधान गर्ने गरेको बताउँदै भक्तपुर देशकै लागि विकासको मार्गदर्शक तथा प्रेरणाको स्रोत भएको बताउनुभयो ।

पाण्डुबजारदेखी गुण्डु जाने सडक र बालकोट जाने सडक भिआइपी सडक भनि विगत पाँच वर्ष अघि शुरु भएको सडक प्रत्येक वर्ष विकास र विस्तार भइरहेको बताउँदै सांसद बस्नेतले विकास निर्माणमा कुनै राजनीतिक दलभन्दा माथि उठी हातमा हात काँधमा काँध मिलाई अघि बढ्पर्नेमा जोड दिनुभयो ।

आफ्नो वडामा आउने सम्पूर्ण विकासको नेतृत्व जनप्रतिनिधिले गर्नु नै सच्चा संघियताको मर्म भएको बताउँदै उहाँले भन्नुभयो, ‘हरेक मान्छेभित्र अर्को मान्छे हुन्छ, हरेक मन भित्र एउटा मन हुन्छ, बाहिरी मनले उसले जे बोले पनि उसको भित्री मनले के बोलेको छ ? बाहिर उसको मुखले के भनेको छ ? उसको भित्री मनले के भनेको छ ? एउटा चोरले चोरेर पनि उसको भित्री मनले मैले चोरेर गल्ती गरे भन्छ, त्यसैले हामीले सहि मार्ग पच्छ्याउनको लागि कसको कुरा सुन्ने, कसको कुरा मान्ने भन्दा पनि अन्तरमनको कुरा सुन्ने अनि अन्तरमनबाट निर्णय गर्ने मानिस मात्र सहजै रुपमा सफलता चुम्न सक्छ ।’

भक्तपुर डिभिजन कार्यालय मातहतका पाँच करोड भन्दा माथिका १० वटा सडकहरु निर्माणको प्रकृयामा रहेको जानकारी गराउँदै सांसद बस्नेतले जनघनत्यवको व्यवस्थापन गर्न सडक विकासलाई तिव्रता दिनुपर्ने अनिवार्य आवश्यकता रहेको औंल्याउनुभयो ।

बालकोटमा पाँचवटा नाका रहेकोमा बालकोटदेखि सिरुटार जाने केही मात्रामा व्यवस्थित भए पनि अन्य चार वटा व्यवस्थापनको जरुरी रहेको बताउँदै उहाँले चारदेवाटोेदेखी बालकोट जाने सडक, बालकुमारी देखि महेन्द्र शान्ति हुँदै चित्रपुर जाने सडक, नयाँ पुलदेखी गणेश प्रावि हुँदै लुभु जाने सडक, दक्षिण बाराहीदेखी पानीट्याङ्की जाने सडक बालकोटको मूख्य मूख्य नाकाका सडकहरु निर्माणको चरणमा रहेको जानकारी गराउनुभयो ।

पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले ढुङ्गेसागुबाट दवाडी टोल तथा ढुङ्गेसागुबाट वृहस्पती मार्ग जाने सडक उपत्यका विकास प्राधिकरणको तर्फबाट बजेट पार्न सफल भएको जानकारी गराउनुभयो । उहाँले बालकोटमा मात्र हाल १३ वटा सडकहरु निर्माण भइरहेको समेत जानकारी गराउनुभयो ।

भक्तपुरको विकास अहिले प्रारम्भीक चरणमा रहेको आगामी वर्ष क्रमिक रुपमा सम्पन्न हुँदै जाने बताउँदै सांसद बस्नेतले भक्तपुरका जनता विकासको निम्ती स्वस्फूर्त लागि परेको जुन देशकै उदाहरणीय कार्य भएको बताउनुभयो । उहाँले विकास सिक्न आउनु पर्यो भने भक्तपुरमा आउने वातावरण सिर्जना भएको बताउँदै भक्तपुरको विकास र समृद्धिमा मिडियाले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

सफाई अभियान नै हनुमन्ते नदीको करिडोर निर्माण सफल भएको बताउँदै सांसद बस्नेतले हनुमन्ते नदीको कोरिडोरको सञ्चालन पछि आम भक्तपुरका जनताले सहजै रुपमा काठमाडौँ तथा ललितपुर पहुँच हुने बताउनुभयो । उहाँले करिडोरको निर्माण सम्पन्न भएपश्चात कोटेश्वर –जडिबुटीको सवारी जामको समाधान हुने बताउनुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम आगामी २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख अतिथ्यतामा भक्तपुबाट शुभारम्भ हुन लागेको बताउँदै उहाँले रोजगार कार्यक्रम समुदायमा आधारित बनाउने समेत बताउनुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरपालिकाले क्यालेन्डर बनाएर विकासका कार्यहरु अगाडि बढाएको बताउनुभयो । सूर्यविनायकको विकास देखेर अरु नगरपालिका समेत छक्क परेको दाबी गर्दै उहाँले नगरपालिका मेयरले मात्रै नभई जनताको सल्लाह र सुझाबले चलेकाले विकासमा जनताको समर्थन पाएको बताउनुभयो ।

संघिय सरकारको पाँच लाख लागतमा निर्माण शुरु गरिएको उक्त सडक आगामी चैत महिनासम्ममा निर्माण सम्पन्न गरि कालोपत्र गरिसक्नु पर्ने गरि बिस्तार हुने डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख वेदप्रसाद भुषालले जानकारी दिनुभयो ।