भक्तपुर, १९ जेठ । रमेश गिरी । खानेपानी तथा सरसफाई मन्त्री विना मगरले सरकारले आगामी २०३० सम्ममा देशभरका जनतामा प्रशोधित शुद्ध पानीको पहुँच पुर्याउने लक्ष्य लिएको बताउनु भएको छ ।
सूर्यविनायक नगरपालिका वडा नं.८ मा सिपाडोल खानेपानी तथा सरसफाई उपभोक्ता समितिले निर्माण सुरु गरेको ३ लाख लिटर क्षमताको नयाँ पानी ट्यांकीको शिलान्यास गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
मन्त्री मगरले भन्नुभयो, “सरकारले २०३० सम्म देशभरका जनतालाई प्रशोधित शुद्ध पानी पुर्याउने लक्ष्यका साथ अगाडि बढेको छ, अहिले देशमा २० प्रतिशत जनताले मात्रै शुद्ध पानी पिईरहेका छन्, सरकारले आधारभूत पानीको सुनिश्चितता अब गर्छ ।” सूर्यविनायक नगरपालिकाले छिटो भन्दा छिटो खानेपानीको पहुँच बृद्धि गर्दै एक घर एक धाराको अभियान संचालन गरेर उदाहरणीय कार्य गरेको उहाँले चर्चा गर्नुभयो ।
सरकारले खानेपानीमा लगानी गरेको तीन वर्षमा सक्नु पर्ने आयोजनाहरु ५ वर्षमा पनि नसकिने र राज्यले पर्याप्त बजेट दिन नसक्दा कयौ आयोजनाहरु अलपत्र अबस्थामा रहनु विडम्बना भएको बताउनुभयो । सिपाडोल खानेपानी आयोजनाले सहकारीलाई जोडेर खानेपानी वितरण गर्नु उत्कृष्ट कार्य गरेको बताउदै उहाँले यो आयोजनाबाट आफूले पनि नयाँ अबधारणा सिकेको बताउनुभयो ।
मन्त्री मगरले भन्नुभयो, “खानेपानीको बिस्तारमा नयाँ सम्भावना खोजी गरिरहेका छौ, यो अबस्थामा सहकारीलाई जोडेर खानेपानीलाई लैजाने अबधारणा यहीबाट जानियो, त्यसैले मैले खानेपानीलाई सहकारीसंग जोडेर लैजान भूमि तथा सहकारी मन्त्रीसँग छलफल सुरु गरेका छु ।”
कार्यक्रममा प्रतिनिधि सभाका सांसद, पूर्वउद्योग मन्त्री एवं नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले सूर्यविनायकको समग्र विकासमा गाउँ गाउँमा सडक सञ्जाल बिस्तार गर्दै यहाँ ठू्रला आयोजनाहरु समेत संचालनमा आएको बताउनुभयो । सडक निर्माणको कार्य महत्वपूर्ण भएको बताउदै छोटो समयावधिमा उपब्धिमुलक धेरै काम भएको बताउनुभयो ।
बस्नेतले भन्नुभयो“भक्तपुरको विकासले मुहार फेर्न सुरु गरेको छ, अरनिको राजमार्गसंग जोड्ने १३ वटा भित्री सडक बिस्तार भईरहेको छ, काठमाडौँको बालकुमारीदेखि रानीकोट, साँगासम्मको भित्री सडक निर्माण हुदैछ, बालकोटदेखि ललितपुरको लुभु सडक, ठिमीबाट दधिकोट बिरुवा जाने सडक विस्तार हुदैछ, अब पछाडि परेको भक्तपुरले अब विकासको मुहार फेर्छ ।”
उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत २ करोड ५० लाख रुपैयाँको कार्यक्रम भक्तपुरमा सुरु हुन लागेको बताउँदै, खानेपानीको अभाव समेत मेट्ने गरि विकासका लागि आफू लागिपरेको बताउनुभयो ।
भक्तपुरको पर्यटकीय क्षेत्रका रुपमा विकास हुदै गरेको पाईलट बाबा आश्रम, घ्याम्पे डाँडा सिलामगाल गुण्डु घ्याम्पेडाँडा–रानीकोट सडकखण्डमा पनि ५ करोडको लागतमा सडक विस्तार हुन लागेको बताउनुभयो ।
सूर्यविनायकमा निर्माण भईरहेको प्राणी उद्यान केन्द्रको छिटो निर्माण सम्पन्न गर्न वन मन्त्रीसँग आफूले छलफल गरिरहेको बताउदै उहाँले प्राणी उद्यान केन्द्रले सूर्य्वनायकको मात्र नभई भक्तपुरकै मुहार फेरिने दावी गर्नुभयो ।
भक्तपुरको विकास निर्माण, ढल व्यवस्थापन, बाढि तथा पहिरो रोकथाम, सडक दुर्घटना र सडक जामको न्यूनिकरण, करिडोर निर्माण, प्राणी उद्यान केन्द्र, अन्तर्राष्ट्रियसभा हल, खेल मैदान निर्माण तथा भक्तपुरलाई पर्यटकीय गन्तव्यको रुपमा विकसित गराउने लक्ष्यसहित आफू अगाडि बढेको बताउनुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले यो वर्ष विकास र पूर्वाधारको वर्ष भएको चर्चा गर्दै भक्तपुरको विकासले कोल्टे फर्दै तिब्र गतिमा अगाडि बढेको बताउनुभयो । त्यस अवसरमा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले सूर्यविनायक नगरपालिकालाई अबको तीन वर्षमा नूमना नगरपालिका बनाउने बताउदै विकासमा विवाद र अबरोध नगरी अगाडि बढ्ने मान्यतालाई अगाडि सारेको बताउनुभयो ।
सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष किरण थापाले सिपाडोलमा विकाससंगै नयाँ बस्ती समेत तिब्र गतिमा बृद्धि हुदै गएकोले खानेपानीको माग पनि चुलिदै गएको बताउनुभयो । उहाँले कूल ७० लाखको लागतमा निर्माण हुन लागेको तीन लाख लिटर खानेपानी ट्यांकी निर्माणका लागि सूर्यविनायक नगरपालिकाले ३० लाख रुपैया अनुदान दिएको बताउनुभयो । जनताको साझेदारीमा बन्ने उक्त पानी ट्यांकीमा नपुग रकम बिभिन्न निकायबाट जुटाउने बताउदै यो पानी ट्यांकी निर्माण गरि थप धारा वितरण गर्दै पानीको माग पुरा गर्न सफल हुने बताउनुभयो ।
कार्यक्रमका सभापति एवं समितिका अध्यक्ष रत्नप्रसाद छुँकाले सहकारीले खानेपानी समिति समेत संचालन गरेर यहाँको खानेपानीको समस्या समाधान गर्दै अगाडि बढेको बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्