राजनीति

चुनावको समयमा लिपिवद्ध गरेको प्रतिवद्धताहरु एक एक गरेर पुरा गर्छौ : सांसद पहारी



पोखरा, २० जेठ । गण्डकी प्रदेशका सांसद तथा पूर्वयुवा संघ नेपालका अध्यक्ष राजीव पहारीले नेपाल कमयुनिष्ट पार्टी (नेकपा)ले चुनावको समयमा जनतासामु लिपिवद्ध गरेका सवै प्रतिवद्धताहरु आगामी चार वर्षभित्रमा पुरा हुनेमा ढुक्क हुन आग्रह गर्नुभएको छ ।

आइतवार नयाँपुल विरेठारी घान्द्रुक उरीसम्मको सडक स्तरोन्नती सडक शिलान्यास कार्यक्रममा बोल्दै सांसद पहारीले खानेपानी, सडक, भौतिक संरचना लगायतका जुनसुकै समस्याहरु आफ्नो कार्यकालभरमा पुरा गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले जनताले चुनावमा आफ्नो अमूल्य मत दिई प्रदेश तथा समग्र देशलाई समृद्ध तथा विकसित बनाउने जिम्मा प्रदान गरेको बताउँदै जनताले विश्वासरका साथ दिएको जिम्मालाई अक्षरस पुरा गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रदेश सरकार जनताको समस्यामा सधै हाजिर हुने बताउँदै उहाँले चापाकोटको खहरे खोलाका कारण वर्षाको समयमा माथिका मानिस माथि नै र तलका मानिस तलनै हुने अवस्था रहेकाले त्यसको दिर्घकालिन समस्या समाधानको सात करोड प्रदेश सरकारको लगानीमा पक्की पुल निर्माणको कार्य शुरुवात गरिएको बताउनुभयो । उक्त पुल शिलान्यास भएको डेढ वर्षभित्रमा निर्माण भइसक्ने समेत जानकारी गराउनुभयो ।

आफ्नो निर्वाचन क्षेत्रमा धेरै पुल, सडक, ढल लगायतका विकास निर्माणका कार्यहरुको शुरुवात भएको बताउँदै सांसद पहारीले अघिल्लो वर्ष विकासको आधार वर्ष भएको र आगामी वर्षहरु प्रत्यक्ष जनताले देखिने तथा अनुभुती हुने गरी विकास निर्माणका कार्यहरु तिव्र गतिका साथ हुने बताउनुभयो ।

सांसद पहारीले नेपालमा संघियताको नयाँ अभ्यास भएको र जसको लागि धेरै कानुन तथा ऐनहरुको निर्माण गर्नु मूख्य कार्य रहेको र तीनै तहका सरकारले उक्त कार्य सम्पन्न गरिसकेको बताउँदै आगामी वर्षहरु विकासका वर्षहरु हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो । विगतमा छुटेका विकास निर्माणका कार्यहरु पुरा गर्नु आफ्नो मूख्य उद्देश्य रहेको बताउँदै आगामी दिनमा छुटेका सवै विकासका कार्यहरुलाई समेट्दै नयाँ नयाँ जनताको आवश्यकता अनुसारका विकासका कार्यहरु निर्माण गरिने बताउनुभयो ।

प्रदेश सरकारको रु २० करोडको लागतमा उक्त सडकको १० किलोमिटर बाटोको कालो पत्रे तथा स्तर उन्नति हुने सडक आगामी २०७८ जेठ १०  गते सम्म सम्पन्न हुने बताइएको छ ।