काठमाडौँ, २० जेठ । महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपि) उत्तमराज सुवेदीले पछिल्लो समयमा मोवाइलले गर्दा धेरैको परिवार र घरव्यवहार नै भताभुंग भएको बताएका छन ।
महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर तथा सामुदायीक प्रहरी सेवा केन्द्र, १०, ३१ र ३२ को संयुक्त आयोजनामा आइतबार बानेश्वरमा आयोजित शान्ति सुरक्षा सम्वन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै एसएसपि सुवेदीले वर्तमान समाजको स्थितिबारे चित्रण गरेका हुन ।
‘अहिले सबैको घरमा घर व्यवहार र छोराछोरीको पढाईको बारेमा छलफल गर्ने बानी मोवाइलले खोसीसक्यो’—एसएसपि सुवेदीले भने, ‘श्रीमान मोवाइलमा, श्रीमती मोवाइलमा छोरीहरु च्याटमा छोराहरु पब्जीमा व्यस्त हुने गरेका कारण धेरैको घर व्यवहार भताभुंग भएको छ ।’
अभिभावक आफैं मोवाइलमा मस्त हुँदा छोराछोरीले बाटो विराएर लागुऔषधको दुव्र्यसन र छोरीहरु यौन दुव्र्यवहार र महिला हिंसामा पर्ने गरेको उल्लेख गर्दै एसएसपि सुवेदीले भने ‘मोवाइलले गर्दा सामाजिक विकृति बढेको र श्रीमान श्रीमतीवीच वेमेल बढेर डिर्भाेससम्म पुगेको छ ।’
कार्यक्रमको उद्धेश्यबारे प्रकाश पार्दै महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, डिएसपि गोविन्दराज काफ्लेले नेपाल प्रहरीले अघि सारेको समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई विगतमा जस्तै भविष्यमा पनि निरन्तरता दिँदै समुदायलाई सुरक्षित राख्नु सबैको दायीत्व भएको बताए ।
सामुदायीक सेवा तथा विकास केन्द्र ३१ का अध्यक्ष प्राडा. बासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं १० का अध्यक्ष राजकुमार केसी, ३१ का अध्यक्ष नारायणप्रसाद भण्डारी र ३२ का अध्यक्ष नवराज पराजुली, सामुदायीक सेवा केन्द्र १० का महासचिव अशोक कार्की,सामुदायीक प्रहरी सेवा केन्द्र १० लाखेचौरका प्रहरी हवल्दार ताराराम दयाल लगायतले शान्तिसुरक्षाका विविध विषयमा आफ्ना भनाई राखेका थिए ।
कार्यक्रममा काव्य स्कुल नयाँबानेश्वरका विद्यार्थीले प्रहरीको कामबारेको गीतिनाटक प्रस्तुत गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्