समाचार

अख्तियारद्वारा विद्यालय निरीक्षक पक्राउ



वीरगञ्ज, २० जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडा कार्यालयले पर्साको जगरनाथपुर गाउँपालिकाका विद्यालय निरिक्षक राजेश्वर चौरसियालाई पक्राउ गरेको छ ।

आइतबार बेलुका अनाधिकृत रुपमा शिक्षक नियुक्त गरेको आरोपमा अख्तियारले चौरसियालाई पक्राउ गरेको जनाईएको छ । ३५ जनाभन्दा बढी नक्कली शिक्षकलाई राहत, अस्थायी र करारमा नियुक्त गरेको घटनाका सम्बन्धमा छानबिन गरिरहेको अख्तियारले विद्यालय निरीक्षक चौरसियालाई थप अनुसन्धान र कारबाहीका लागि नियन्त्रणमा लिएको हो ।

पर्सा जिल्लाका विभिन्न विद्यालयमा फर्जी तरिकाबाट शिक्षक नियुक्त गरी जगरनाथपुर गाउँपालिकामा सरुवा गरेर चौरसियाको सञ्जालले लाखौं रुपैयाँ कुम्ल्याएको आरोप लाग्दै आएको छ ।