सम्पादकीय

पेटभरि पानीसमेत खान पाइन्न !



धादिङ । ‘पेटभरि पानीसमेत खान पाइन्न । बिरामी भएका बेला त पैंचो गरेर पानी खानुपर्छ । लुगा धुन, सरसफाइ गर्न पानी पाउनु त हाम्रा लागि निकै परको कुरा हो’, बेनिघाट रोराङ गाउँपालिका–२, ब्रुसबाङकी फूलमाया चेपाङको दुखेसो हो यो ।

समुद्री सतहबाट एक हजार आठ सय ४५ मिटर उचाइमा पर्ने विकट गाउँ ब्रुसबाङमा पुर्खादेखि बस्दै आएका चेपाङ समुदायले स्वच्छ पिउने पानीसमेत पाएका छैनन् ।

पानीको जोहो गर्न दुई, तीन घन्टा ओरालो र उकालो हिँड्नुपर्ने उनीहरूको पुस्तैनी बाध्यता गणतन्त्रकालमा पनि यथावत छ । वर्षको चार महिना आफूले फलाएको अन्न र बाँकी आठ महिना गिठा, भ्याकुर, सिस्नु खाएर जिउनुपर्ने बाध्यता पनि छँदैछ ।

खेती गर्न जमिन भए पनि सिँचाइ अभावमा उब्जनी हुँदैन । चेपाङ बस्तीमा स्वास्थ्यचौकी, विद्यालय, शौचालय र बाटोको सुविधा पनि छैन ।वर्षौंदेखि अभावको नियति झेल्दै आएका ब्रुसबाङका चेपाङ समस्याबाट मुक्ति मिल्ने भए थातथलो छाड्न राजी छन् । यो समाचार आजको नागरिकको पहिलो पृष्ठमा छापिएको  छ ।