समाचार

ललितपुरमा रातो मच्छिन्द्रनाथको भोटो देखाइँदै



काठमाडौँ, २६ जेठ । वर्षा र अन्नका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको भोटो आज ललितपुरको जावलाखेलमा देखाइँदै छ ।

राष्ट्रप्रमुख तथा उच्च पदस्थका व्यक्तिहरूको उपस्थितिमा देखाइने जात्राका लागि मच्छिन्द्रनाथको रथलाई लगनखेलस्थित थटिटोलबाट तानेर जावलाखेल पु¥याएको थियो । बेलुकी ५ बजे जावलाखेलमा राखिएको रथबाट राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले रातो मच्छिन्द्रनाथको भोटो देखाउनुहुनेछ ।

सोमबार मच्छिन्द्रनाथको रथलाई जावलाखेलस्थित क्षेत्रपाल भैरव कामनामाई पीठको खाल्डोमा पु¥याएपछि ‘यास्न्यात’ भनी गुरुजु पल्टनद्वारा तोप पडकाई हर्ष–बढाइँ गरिएको थियो ।

रथ जावलाखेल पु¥याइएको चौथो दिन भोटो देखाउने परम्परा अनुसार मच्छिन्द्रनाथको लोककथन रहेको बहुमूल्य मणिमाणिक, हीरामोती, रत्न आदि जडित भोटो देखाइनेछ । जावलाखेलमा भोटो देखाइसकेपछि त्यसै दिन मच्छिन्द्रनाथलाई रथबाट ओरालेर सानो खटमा राखी बाजागाजाका साथ बुङमतीस्थित उनकै मन्दिरमा पु¥याइन्छ ।

भूकम्पले ध्वस्त बनेको मच्छिन्द्रनाथको मन्दिर पुनर्निर्माण भइनसकेकाले मच्छिन्द्रनाथको मूर्तिलाई मन्दिरपछाडि बनाइएको टहरामा राखिनेछ । मीननाथलाई रथमा नै राखेर तानेर चक्रबहिमा प¥याएपछि यस वर्षको मच्छिन्द्रनाथको रथ यात्रा समापन हुन्छ ।