काठमाडौँ, २६ । जेठ मनि एक्सेन्जहरु र सुनचाँदी पसलमा हातहतियार देखाई लुटपाट गरेको अभियोगमा ४ जनालाई ईलाम तथा उपत्यकाका बिभिन्न स्थानबाट महानगरीय अपराध महाशाखा टेकुको प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ईलाम माइजोकमाई गाउँपालिका-६ का २४ वर्षीय धराने भन्ने नितेश तामाङ, रौतहट चन्द्रनिगाहपुर नगरपालिका-२ का २३ वर्षीय मुन्द्रे भन्ने अजय घ्यावा तामाङ, काभ्रे चौरीदेउराली गाउँपालिका-३ का २३ वर्षीय बाहुन भन्ने रुपेश चौलागाई र मकवानपुर शिखरपानी गाउँपालिका-८ जिग्री भन्ने ठाउँका ३० वर्षीय जिग्री भन्ने भिमराज थिङ रहेका छन् ।
उपत्यकाका बिभिन्न स्थानमा विभिन्न मितिमा मनि एक्सेन्जहरु र सुनचाँदी पसलमा समेत खुकुरी सहितका हातहतियार देखाई नगद लुटपाट गर्ने कार्यमा संलग्न रहेका व्यक्तिहरुको खोजी गर्ने क्रममा उनीहरुलाई पक्राउ गरी थप आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।
यसैगरी काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ नारायणटारस्थित सडकबाट चोरी तथा लुटपाटका घटनामा संलग्न रही फरार रहेका बौद्ध नयाँबस्ती बस्ने ईलामका ३९ वर्षीय काका भन्ने छिरिङ तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ गर्ने क्रममा भाग्ने प्रयास गरेपछि प्रहरीले खुट्टामा गोली प्रहार गरी तामाङलाई नियन्त्रणमा लिएको हो । घाइते तामाङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घटनास्थलबाट १ थान इटालियन अटोमेटिक पेस्तोल र सोको गोली ६ राउण्ड समेत प्रहरीले बरामद गरेको छ ।
साथै तामाङका साथी उदयपुर बेलटार नगरपालिका-४ घर भई हाल कोटेश्वर बस्ने २५ वर्षीय योगेन तामाङलाई समेत प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्