वीरेन्द्रनगर, २६ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले संविधानमाथि धावा बोल्नेका विरुद्ध कांग्रेस जाइलाग्ने बताउनुभएको छ ।
आइतबार कांग्रेस सुर्खेतले आयोजना गरेको कार्यकर्ता भेटघाटमा बोल्दै नेता सिंहले कांग्रेस आफू पनि सच्चिन तयार रहनुपर्ने बताउँदै कांग्रेसले नै संविधान जारी गरेको हुँदा त्यसको पालना र रक्षा गर्ने प्रमुख दायित्व पनि कांग्रेसकै भएको दावी गर्नुभयो ।
विगतको इतिहास भजाएर मात्रै कांग्रेसलाई जनताले विश्वास गर्न नसक्ने बताउँदै उहाँले कांग्रेसले आफूलाई विधि विधान अनुसार नचलाएमा, नयाँ संरचनामा नलगेमा र आन्तरिक कलह समाप्त नपारेसम्म विगतको इतिहासलाई भजाएर आफूतिर तान्न नसकिने उल्लेख गर्नुभयो ।
उहाँले देश र जनताको माग र आवस्यकता अनुसार पार्टी भित्रको गुट र उपगुटको समस्या समाधान गर्नुपर्ने बताउँदै संस्थागत सुधार गरेर, विधि विधानबाट चलाएर मात्रै कांग्रेस एकढिक्का बनाउनुपर्नेमा जोड दिनुभयो ।
दुई तिहाईको सरकारले गरेको मनपरी र अधिनायकवाद शैलीको कदमको सशक्त प्रतिकार गर्दै आएको बताउँदै उहाँले ओली सरकारले एक पछि अर्को गर्दै विभिन्न विधेयकहरु ल्याएर अधिनायकवाद लाद्न खोजेको आरोप लगाउनुभयो ।










प्रतिक्रिया दिनुहोस्