जेनेभा, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को शतवार्षिकी समारोहलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।
आज नै प्रधानमन्त्री ओलीले स्वीस सरकारका वरिष्ठ अधिकारी तथा सम्मेलनमा सहभागी विभिन्न देशका नेतासँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ । जेनेभाका विभिन्न कार्यक्रमपछि प्रधानमन्त्री ओली आजै संयुक्त अधिराज्यको औपचारिक भ्रमणका लागि लण्डन प्रस्थान गर्नुहुनेछ ।
प्रधानमन्त्री ओलीको सम्मानमा जेनेभास्थित नेपाली नियोग प्रमुखले आइतवार साँझ स्वागत समारोह आयोजना गर्दै गर्नुभयो । प्रधानमन्त्री ओलीले त्यस अवसरमा स्वीट्जरल्याण्डमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्नुभएको छ ।
भ्रमणमा प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई र प्रेस सल्लाहकार डा कुन्दन अर्याल तथा सांसद विमलप्रसाद श्रीवास्तव र विन्दा पाण्डे हुनुहुन्छ ।
परराष्ट्र सचिव शङ्करदास वैरागी, श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहाल तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीलगायत पनि प्रतिनिधिमण्डलमा सहभागी हुनुहुन्छ । गैह्रसरकारी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा र रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकाल जेनेभा भ्रमणमा सहभागी हुनुहुन्छ ।










प्रतिक्रिया दिनुहोस्