काठमाडौँ, २७ जेठ । गृहमन्त्री रामबहादुर थापाले विपद् व्यवस्थापन र जलवायु परिवर्तनको क्षेत्रमा देखिएका चुनौतीको सामना गर्न आपसी सहकार्य र ऐक्यबद्धता आवश्यक रहेको बताएक छन ।
काठमाडौँमा आजदेखि शुरु भएको ‘विपद् व्यवस्थापन, पुनःनिर्माण, ऊर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहको भूमिकासम्बन्धी दक्षिण एशियाली सम्मेलन’को उद्घाटनमा बोल्दै मन्त्री थापाले विकासशील राष्ट्रले जलवायु परिवर्तनमा नखाएको विष लागेको भन्दै यसका विरुद्ध दक्षिण एशियाली मुलुकहरुबीच ऐक्यबद्धता र सहकार्य गरी आवाज उठाउनुपर्ने बताए ।
विकसित देशका विकास नीतिको परिणाम प्राकृतिक विपद् र जलवायु परिवर्तनमा समस्या उत्पन्न भएको बताउँदै उनले विद्यमान नीतिलाई निरन्तरता दिने कि परिवर्तन गर्ने आजको प्रमुख प्रश्न रहेको बताए ।
गृहमन्त्री थापाले विपद् व्यवस्थापन, पुनःनिर्माण, ऊर्जा र जलवायु परिवर्तन जस्ता विषय राष्ट्रको विकाससँग जोडिएको उल्लेख गर्दै यसमा आइपर्ने चुनौती समाधानमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताए ।
दुई दिनसम्म हुने सम्मेलन राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ, युनाइटेड सिटी एण्ड लोकल गभरमेन्ट एशिया प्यासिफिक र युरोपेली युनियनको संयुक्त आयोजनामा भएको हो ।
सम्मेलनमा नेपालका करीब ४५, माल्दिभ्सि र भुटान बाहेक दक्षिण एशियाली मुलुकका २५ गरी कूल ७० स्थानीय तहका जनप्रतिनिधि र स्थानीय सरकार विषयका विज्ञको सहभागिता छ ।










प्रतिक्रिया दिनुहोस्