राजनीति

महिला जनप्रतिनिधिलाई लैंङ्गिक हिंसाका विरुद्धमा एक दिने अन्तरक्रिया सम्पन्न



काभ्रे, २८ जेठ । काभ्रे जिल्लाबाट निर्वाचित महिला जनप्रतिनिधिहरुलाई लैङ्गिक हिंसालगायतका कुरितीहरुको विरुद्धमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

यो वर्षलाई लैङ्गिक हिंसा विरुद्धको वर्षको रुपमा मनाउने उद्घोषका साथ गरिएको उक्त कार्यक्रममा लैङ्गिक हिंसा तथा कुरितीको विरुद्धमा विशेष रुपमा स्थानीय तहले मूख्य भूमीका निर्वाह गरी न्युनिकरण गर्नुपर्नेमा जोड दिइएको छ । जसमा हिंसाको वारेमा गाउँ गाउँमा पुगी जनचेतनामूलक कार्यक्रमहरु गर्नुपर्ने बताइएको छ ।

संविधानत कुनै पनि प्रकारको विभेद तथा हिंसा गर्न नपाईने स्पष्ट रुपमा उल्लेख गरेता पनि जनचेतनाको कमिका कारण विभिन्न प्रकारका घटनाहरु घट्ने कार्य भइरहेको बताउँदै कानुनी व्यवस्थाको बारेमा जानकारी गराउँदै हिंसा गर्नेलाई कडा भन्दा कडा कानुनी कारवाही गर्नुपर्नेमा जोड दिइएको छ ।

महिलाले पाएका अधिकारलाई व्यवहारिकतामा लागु गर्नुपर्ने बताउँदै स्थानीय तहका न्यायीक समितिहरुलाई क्षमता अभिवृद्धि गराउने प्रकारका कार्यक्रमहरु अझ बढाउँदै लैजानुपर्नेमा जोड दिइएको छ । स्थानीय तहमा न्याय सम्पादन तथा न्यायीक निरुपणलाई प्रभावकारी बनाउन सवैले सहयोग पुर्याउनुपर्नेमा जोड दिइएको छ ।

महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले नेपालका कतिपय ठाउँहरुमा महिलालाई दास तथा बोल्न नहुने भनि एक प्रकारको अवशेसहरु अझै बाँकी रहेकाले त्यसलाई अन्तय गराउन मन्त्रालय कानुनी तथा व्यहारिक रुपमा कडाईका साथ अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले संविधानले महिलालाई अनेकौं अधिकारहरु प्रदान गरेको तर व्यहारिकतमा भने लागु हुन नसकेकाले आगामी दिनमा सवै सरोकारवाला संघ संस्था, नागरिक समाज तथा जनप्रतिनिधिहरु एक ढिक्का भई संविधानमा लिपिवद्ध भएका अधिकारलाई अक्षरस पालना गराउन आ–आफ्नो ठाउँबाट लाग्नुपर्नेमा जोड दिनुभयो ।

महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले देशमा रहेका कुनै पनि प्रकारका महिला हिंसा तथा कुरीतिका अन्त्य गर्न महिलाले मात्र सम्भव नरहेकाले पुरुषको सहयोग अपरिहार्य रहेको बताउनुभयो । नेपालमा वर्तमान समयमा बोल्न सक्ने महिलालेमात्र आमाको नामबाट नागरिकता पाउने गरेको बताउँदै सवै आमाको नामबाट नागरिकता पाउने वातावरणको सिर्जना गर्नुपर्नेमा उहाँको जोड रहेको थियो ।