Banner News

मिडिया काउन्सिल विधेयकका समस्या समाधान गर्न सरकार तयार : कावा प्रम पोखरेल



काठमाडौँ, ३१ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले ‘मिडिया काउन्सिल विधेयक’का समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ ।

मिडिया काउन्सिल विधेयक बारेको विवाद साम्य पार्न विभिन्न राष्ट्रिय सञ्चारमाध्यमका सम्पादकसँग सिंहदरबारमा छलफलमा कार्यावहाक प्रधानमन्त्री पोखरेलले उपप्रधानमन्त्री पोखरेलले आपसी बुझाईका कारण कतिपय समस्या बल्झने गरेको बताउँदै उहाँले भन्नुभयो, “विधेयक फिर्ता वा परिमार्जनभन्दा पनि यसमा सम्बोधन हुनुपर्ने विषयवस्तुबारे थप छलफल गरेर समस्यालाई किनारा लगाउन सरकार तयार छ ।” उहाँले जनताबाट आवधिकरुपमा अनुमोदित हुनुपर्ने कुराबाट सरकार सजग रहेको बताउनुभयो ।

कार्यबहाक प्रधानमन्त्री पोखरेलले राजनीतिक प्रणालीमा आएको परिवर्तनसँगै हरेक क्षेत्रमा यस व्यवस्थालाई सुहाउँदो कानून र संरचना बनाउन बाँकी नै रहेकाले हरेक क्षेत्रमा केही अन्योल र समस्या रहेको र त्यसलाई क्रमिक रुपमा समाधान गर्दै अघि बढ्नुको कुनै विकल्प नभएको बताउनुभयो । उहाँले काउन्सिल विधेय प्रधानमन्त्री केपी शर्मा ओली आएपछि थप छलफल गरी उचित निश्कर्ष निकाल्ने समेत जानकारी गराउनुभयो ।

उपनेता नेम्वाङले संविधानमा उल्लेखित पूर्ण प्रेस स्वतन्त्रताको भावना अनुकूल विधेयकलाई संसद् बाट परिमार्जन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सम्पादक तथा अग्रज पत्रकारहरुले पत्रकार आचारसंहिताको पालनाका लागि आफूहरु पनि गम्भीर रहेको जनाउनुभयो । कतिपय सम्पादकले उक्त विधेयक फिर्ता लिएर थप छलफल गर्न आग्रह गर्नुभएको थियो भने कतिपयले फिर्ता वा परिमार्जन जे गरे पनि नेपाली समाज खुला समाज भएकाले प्रेस स्वतन्त्रताको रक्षा हुनुपर्ने जनाउनुभयो ।

छलफल कार्यक्रममा नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, नेकपाका सांसद योगेश भट्टराईको उपस्थितिमा छलफलले भएको थियो ।

उक्त विधेयक गत वैशाख २७ गते राष्ट्रियसभामा दर्ता भएको थियो । विधेयकमा पत्रकारलाई दण्ड र जरिवाना, काउन्सिलमा पदाधिकारी नियुक्तिको व्यवस्थालगायतका प्रस्तावमा पत्रकारिता क्षेत्रले असन्तुष्टि जनाउँदै आएको छ ।