सुर्खेत, १ असार । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनतामा निराशा पैदा गर्न र संघीयतालाई असफल पार्न अनर्गल प्रचारवाजी भइरहेको भइरहेको बताउनुभएको छ ।
आइतबार सुर्खेतको वीरेन्द्रगरमा सिभिल बैंकको कर्णाली प्रदेश कार्यालय र सुर्खेत शाखाको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले संघीय व्यवस्थाले मात्र देशको सन्तुलित विकास हुने बताउँदै भन्नुभयो, ‘सरकारको नेतृत्वविरुद्ध जनमानसमा भ्रम श्रृजना गर्दै संघीयता नै ठीक छैन भन्ने जनमत निर्माण गर्न खोजिएको छ, गलत उद्देश्यले गरिएका यस्ता प्रचारवाजीविरुद्ध जनता सचेत रहन आवश्यक छ ।’
संसारका थुप्रै देशका शक्तिशाली प्रधानमन्त्री, राष्ट्रपतिले पनि दण्ड पाएको उदाहरण दिँदै मुख्यमन्त्री शाहीले नेपालमा पनि कानुनी राज्य भएको र गैरकानुनी काम गर्ने जो कोहीले पनि गल्ती अनुसारको सजाय भोग्नुपर्ने बताउनुभयो । सम्भावना नै संभावनाहरूको खानी रहेको कर्णालीमा आर्थिक विकासको लागि वित्तीय संस्थाहरूको महत्वपूर्ण भूमिका हुने बताउँदै मुख्यमन्त्री शाहीले उत्पादनमूलक र रोजगारी श्रृजना गर्ने क्षेत्रमा बैंकहरूले लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री शाहीले बैंकहरू नाफामुखी मात्रै भएको भन्ने जनगुणासोलाई पनि बैंकहरूले ख्याल गर्न सचेत गराउनुभयो । व्यवसायीको लगानी डुब्न नदिन उपभोगमा स्थानीय उत्पादनलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउँदै मुख्यमन्त्री शाहीले लगानी सुरक्षाको वातावरण बनाउन प्रदेश सरकार तयार रहेको बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्