राजनीति

‘कांग्रेसको नीति, विचार र सिद्धान्त सवै सकिएर भिरबाट लडेको मान्छे जस्तै भयो : सांसद बस्नेत



काठमाडौँ, ५ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले कांग्रेसको नीति, विचार र सिद्धान्त सवै सकिएर भिरबाट लडेको मान्छे जस्तै भएको  बताउनुभयो ।

विहिवारको संसदमा बजेट माथिको छलफलमा आफ्नो धारणा प्रस्तुत गर्दै सांसद बस्नेतले लोकतन्त्रको गजबको परिभाष नेपाली कांग्रेसले गर्न थालेको बताउँदै उहाँले भन्नुभयो, ‘कांग्रेसको नीति, विचार र सिद्धान्त सवै सकिएर भिरबाट लडेको मान्छेले जे भेट्टायो त्यही समाउँछ, कांग्रेसले आज जे भेट्टायो त्यही समाउन थालेको छ । कांग्रेसले पानीजहाज चलाउने सरकारको सपना देख्दैन, उसले कागजको पानी जहाज बनाएर फेसबुकमा नैटङ्कीकारहरुको एजेण्डा बोकेर हिड्ने बाटो मात्र देख्छ । त्यस्तेले कांग्रेस लोकतान्त्रीक पार्टी हुने हो भने उसको व्यहार सच्याउनुपर्छ ।’

सांसद बस्नेतले सम्पत्ती शुद्धिकरण प्रधानमन्त्री कार्यालयको मातहतमा जानु नै विगतमा भएको कालो धन्दालाई तहलगाउन भएको बताउनुभयो । राजश्व अनुसन्धान प्रमको मातहतमा गएपछि टाइट गर्यो ३३ प्रतिशत राजश्व बृद्धि भएको बताउँदै उहाँले प्रमको कार्यालय मातहतमा राजश्व अनुसन्धान पुगेपछि बजेटको आकार बढेको र ठूला ठूला राष्ट्रिय गौरवका आयोजनाहरु अघि बढाउन थालिएको बताउनुभयो ।

सडममा भएका अनेक भुतहरुलाई आङमा छिराएर विधेयकलाई संसदमा प्रवेश नै गर्न नदिने राजनीति नगर्न कांग्रेसलाई चुनौति दिंदै उहाँले बजेटबाट अत्तालीएका शक्तिहरु तथा कतिपय प्रतिपक्षी दलका साथिहरुलाई टाउको दुःखाइ भएको बताउनुभयो । बजेट लोकप्रिय आएको बताउँदै उहाँले बजेटको विषयलाई ट्वीस गर्ने तरिकाले विभिन्न प्रकारका अनावश्यक मुद्धाहरु सडक तथा सदनमा आउन थालेको समेत बताउनुभयो ।

बजेटका विषयमा कतिपय सत्ता पक्षकै साथिहरुको पनि कुण्ठा व्यक्त गर्ने प्रकारको भएको बताउँदै उहाँले विगतमा भएको विकास निर्माण तथा बजेटको क्रमबद्धताकै कारण केहीमात्रामा विगतका केही पहुँचवालाको क्षेत्रमा गएका बताउनुभयो । जुन तवरले माननियहरुले प्रश्न उठाइरहनुभएको छ त्यो कुण्ठाको अभिव्यक्ति भएको बताउँदै उहाँले विगतमा शुरु गरिएका योजनाहरुलाई सफलतामा पुर्याउन बजेट उक्त स्थानमा नै गएको र विगतका निर्माण कार्यहरु सम्पन्न भएपश्चात क्रमिक रुपमा बजेटमा एकरुपता हुँदै जानेमा विश्वास व्यक्त गर्नुभयो ।

आमाले पिट्नुभयो भन्नुको अर्थ कि गम्भीर गल्ती गरेकाले पिट्नुभयो, कि आमासँग अर्को रिस्या पोखियो भन्ने बुझिने बताउँदै उहाँले भन्नुभयो, ‘बजेटको छलफलमा मेरो क्षेत्रमा कति बजेट पर्यो ? प्रधानमन्त्रीको क्षेत्र झापामा कति बजेट पर्यो भनेर मात्र छलफल भएको तर बजेटको शुरुमानै सरकारले यो दुई वर्षलाई क्रमागत योजनालाई नै निरन्तरता दिने भनि उल्लेख गरेको छ । विगतमा हामीले सुन्ने गरेका थियो कि मोरङ र सुनसरीको बजेट कर्णालीको भन्दा बढी पर्यो रे, धनकुटा फलानो प्रधानमन्त्री भएको समयमा बन्यो रे, डडेल्धुरा एकदम व्यापक बनिरहेको छ अरे, बनेको छ कि छैन यस्ता कुरा हामीले धेरै सुनेका थियौं ।’

संघियताको निर्माण गर्ने सवालमा पैसा छाप्ने काम, सेना परिचालन गर्ने काम र परराष्ट्रसँग सम्बन्धीत काम बाहेक अन्य मात्र प्रदेश तथा स्थानीय तहले गर्न पाउने भन्ने छलफल भएको जानकारी गराउँदै उहाँले भन्नुभयो, ‘सरकारले तयार पारेको विधेयक संसदमा छिर्ने नदिने, रोष्टम घेर्ने, आन्दोलन गर्ने अनि भन्ने सरकार अधिनायकवाद तिर जाँदैछ । यो कस्तो लोकतान्त्रीक पद्धति हो ?’

विधेयक संसदमा आएपछि संसदिय पद्धतिबाट छलफल तथा संशाधन गर्न सकीने बताउँदै उहाँले भन्नुभयो, ‘माननीय सांसद ज्युहरु ! सरकारले ल्याएको प्रस्तावलाई हिम्मतका साथ सुन्ने र संसदमा संशोधनको माध्यमबाट परिवर्तन गर्ने हिम्मत देखाउनुहोस् । सरकारको भन्दा फरक विधेयक ल्याउने हो भने नीजि विधेयक संसदमा ल्याउने अधिकार छ ल्याउनुहोस् । होइन भने मिडियाले के लेख्यो ? मिडिया काउन्सिलले के बोल्यो ? तल सडकमा के भयो ? फेसबुकमा के आयो ? भन्ने कुरा उठाएर लोक नहसाउनुहोस् ।’

विगतमा १८० भन्दा बढी विधेयकहरु बनाएको र ति सवै सहमतिकै माध्यमबाट बनाइएको बताउँदै उहाँले भन्नुभयो, ‘चिकित्सा शिक्षा विधेयकमा गोविन्द केसीको भुत तपाइहरुको आङमा थिएन भने सवै सहमति मै हुन्थे ।’

वर्तमान सरकार देश जनता प्रति बफदारी रहेको बताउँदै उहाँले भन्नुभयो, ‘एक जना माननिय ज्यूले भन्नुभयो, केपी ओली श्री ३ हुनुभयो । प्रधानमन्त्रीले बोल्छु भनेर सभामुखसँग समय मागेर दिएको कुरा बोल्न नदिने, रोष्टम घेर्ने कुरा चाही उच्च लोकतान्त्रीक, भोलिपल्ट प्रमुख प्रतिपक्षी दलका नेताललाई बोल्न दिने सरकार अनि सभामुख चाही श्री ३/अधिनायकवादी ? गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा ५७ दिनसम्म रोष्टम घेरियो, रामचन्द्र पौडेल सभामुख हुनुहुन्थ्यो, ५७ दिनसम्म प्रतिपक्षीको आवाजलाई नसुनेर, नारा लगाउन दिने सभामुख र तत्कालिन प्रधानमन्त्री चाही अति लोकतान्त्रीक अनि आज विरोध गरेर भोलिपल्टै संसदमा आफु नबोली, व्याक भई बोल्न दिने प्रधानमन्त्री चाही अलोकतान्त्रीक ?’

राम्रा कुरा नदेख्ने र खाली नराम्रो कुरा मात्र देख्ने प्रवृत्ति देखिएको छ जुन अत्यन्तै बेठिक भएको बताउँदै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले रक्षामन्त्रालयले डिफेन्स युनिभर्सिटिको योजना ल्याएको, सेकुरेटी थिङ् ट्याङको कन्सेप्ट ल्यायो, विगतमा एकिकरणको समयमा भएका गडी तथा सडकहरुलाई पर्यटकीय मार्गको रुपमा अघि बढाएको, स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बीमाको कुरा ल्याएको, आधारभुत वर्गका हरेक मानिसहरु स्वास्थ्य सेवाबाट बञ्चित हुनु नपर्ने कुरा ल्याएको, पर्यटन मन्त्रालयले भिजन २०२० ल्याएको बताउँदै उहाँले पर्यटन वर्ष २०२० को लागि सांसदहरुले बजेट कम भएको भनि सुझाव दिएको र त्यो ठिकै भएको र बजेट आवश्यकता अनुसार थप गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले वर्तमान सरकारले विकासको भेल नै सुरु गरेको बताउँदै विरोधि तत्वहरु एक पछि अर्को गर्दै परास्त हुँदै जाने बताउनुभयो । विकास देखेर राजनीतिक भविष्य समाप्त हुने डरले केही सांसदहरुले विकासको विरोध गरिरहेको बताउँदै उहाँले भन्नुभयो, ‘एक जना सांसदले भक्तपुरमा रंगशाला चाँहीदैन, भक्तपुर–धुलीखेल सडक पनि चाहिँदैन, प्रदेशको राजधानी पनि चाँहीदैन, अन्तर्राष्ट्रिय स्तरको सभागृह पनि चाँहीदैन, काठमाडौँ उपत्यका भित्र कोही पनि मानिसलाई प्रवेश गर्न दिनुहुँदै, जग्गा जमिन तथा घर किन्न दिनुहुँदैन । काठमाडौँ उपत्यका कसैले उपहारमा प्राप्त गरेको ठाउँ हो ? सार्वभौम नेपाली जनताले नेपालको जुनसुकै कुनामा बसाई सर्न पाउने अघिकार रहेको छ । अनावश्यक बहस गर्नुको अर्थ छैन ।’