समाचार

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबाट फेब्रिकेटेड केनल फिटेड भेइकल हस्तान्तरण



काठमाडौँ, ६ असार । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालय केनाइन महाशाखा महाराजगंजलाई फेब्रिकेटेड केनल फिटेड भेइकल हस्तान्तरण गर्नुभएको छ ।

प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रमबीच प्रहरी महानिरीक्षक खनालले उक्त महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. देउती गुरुङलाई उक्त भेइकलको साँचो हस्तान्तरण गर्नुभएको हो ।

विधिको शासन सुनिश्चितताका लागि फौजदारी न्याय प्रणालीमा अनुसन्धानलाई सुदृढिकरण तथा संगठनले अंगिकार गरेका प्राथमिकताहरुमध्ये कसुरको अनुसन्धानलाई समयसापेक्ष, प्रविधिमैत्री र वैज्ञानिकीकरण गर्ने उद्देश्यलाई टेवा पुर्‍याउन प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान विभागबाट चालु आवमा विनियोजित बजेट अन्तर्गत कुल ४३ लाख ५ हजार ३ सय रुपैयाँमा उक्त भेइकल खरिद गरिएको हो ।

चालक सहित ५ जना हेन्डलर र ५ वटा कुकुर बस्न मिल्ने क्षमता भएको उक्त भेइकलमा कुकुरका लागि आवश्यक दाना समेत राख्न मिल्ने व्यवस्था छ । विभिन्न प्रहरी कार्यालयहरुबाट माग भए अनुसार समयमा नै परिचालन गर्ने र कुकुरलाई सुरक्षित ओसारपसार गर्ने भेइकलको उद्धेश्य रहेको प्रहरीले जनाएको छ ।