राजनीति

नेमकिपाले अधिनायकवादको संस्कार बोकेर हिड्यो : बरिष्ठ नेता नेपाल



भक्तपुर, ७ असार । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले नेपाल मजदूर किसान पार्टीले अधिनायकवादको संस्कार बोकेर हिडेको आरोप लगाउनुभएको छ ।

शनिबार भक्तपुरको सिर्जनानगरमा श्रमजीवी महिला तथा बाल कल्याण परिषदद्वारा सञ्चालित भ्याली हेल्थ एण्ड रिसर्च सेन्टरको १६ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको सप्ताहव्यापी स्वास्थ्यसम्बन्धी अभिमुखीकरण एवं पाठेघरको परीक्षण शिविरको शनिवार उद्घाटन गर्दै बरिष्ठ नेता नेपालले नेमकिपाका कार्यकर्तालाई अधिनायकवाद त्याग्न आग्रह गर्दै अधिनायकवादको संस्कार नसिकाउन नारायणमान बिजुक्छेलाई सुझाव समेत दिनुभएको छ ।

उहाँले भन्नुभयो, ‘नारायणमान बिजुक्छेजी अधिनायकवादको संस्कार कार्यकर्तालाई नदिनुस्, अहंकार, दमनकारी, दास प्रवृत्तिले हुर्किदै गए त्यसको परिणाम विस्थापन नै हो, त्यो बाटोतिर नलाग्नुस् ।’

आफ्ना प्रतिपक्षलाई पनि उत्तिकै सम्मान गरे पनि दिगो रहने टिप्पणी गर्दै उहाँले एकाधिकार कायम गर्ने, दम्भको घोडामा हिँड्ने र अरुको मुख बन्द गराउन खोजे आफैँ समाप्त हुने भनाइ राख्नुभयो । उहाँले सरकार विज्ञान र प्रविधिको अधिकतम प्रयोग गर्दै आधुनिकता तथा नवीनतम उपलब्धि हासिल गर्न लागिरहेको उल्लेख गर्दै नेता नेपालले स्वास्थ्य, कृषि, वातावरण, शिक्षा, उत्पादन, बजारीकरणजस्ता जुनसुकै क्षेत्रको सूचना प्रवाह तथा जनचेतना फैलाउन पनि प्रविधिको प्रयोग प्रभावकारी हुने बताउनुभयो ।

वर्तमान समय विकास र समृद्धिको भएको बताउँदै उहाँले विकासमा हातेमालो गरी आफ्नो आगामी राजनीतिक भविष्य खोज्न नेमकिपालाई आग्रह गर्नुभयो । नेकपाको स्थीर सरकार बनेसँगै देशले विकासको नयाँ गति लिएको बताउँदै उहाँले अबका दिनमा कसैले रोकेर विकास नरोकिने समेत दावी गर्नुभयो ।