सप्तरी, ८ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षाको माध्यमबाट सबैखाले असमानता र विभेदलाई जरैदेखि अन्त्य पार्न सकिने बताउनुभएको छ ।
सप्तरीको डाकनेश्वरी नगरपालिका–३ तरहीस्थित हीरक जयन्ती स्तम्भ र विद्यालय भौतिक सुविधा विस्तार कार्यक्रमअन्तर्गत निर्मित पक्की भवनको उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले शिक्षा नै सर्वाङ्गीण विकासको महत्वपूर्ण माध्यम भएको बताउनुभयो ।
उहाँले उच्च शिक्षाको बलियो जगको रुपमा रहेको विद्यालय तहको शिक्षालाई प्रभावकारी तुल्याउन सुदृढ शैक्षिक तथा भौतिक पूर्वाधार विकास आवश्यक रहेको बताउनुभयो ।
प्रदेश नं २ सरकारले ल्याएको ‘बेटी बचाऔँ, बेटी पढाआँै’ अभियानमा सबै पक्षलाई अग्रसर बन्न आग्रह गर्नुहुँदै उहाँले शिक्षाका साथै जनस्वास्थ्यलाई सुदृढ र आधारभूत स्वास्थ्य सेवालाई विस्तार गर्न तथा उद्योगको विकासमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
राष्ट्रपति भण्डारीले चुरे पर्वत शृङ्खलाको अनियन्त्रित दोहनलाई रोकी वृक्षरोपणलाई तीव्रता दिन, जनता आवास कार्यक्रमलाई प्रभावकारी बनाउन, सांस्कृतिक पर्यटकीय क्षेत्रको विकास गर्न, बाढीलगायतको प्राकृतिक प्रकोप नियन्त्रणका लागि पूर्वतयारीमा रहन सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुभयो ।










प्रतिक्रिया दिनुहोस्