काठमाडौँ, ८ असार । देशको पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको मनसुन आज पश्चिमी क्षेत्रसम्म फैलिएको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन पश्चिम क्षेत्रतिर विस्तार हुँदै सोमबारसम्म देशभर फैलिने जनाइएको छ । शनिबार मनसुन मध्य क्षेत्रका केही भेगमा बढी सक्रिय रह्यो । गए रातिदेखि नै मध्यक्षेत्रमा सक्रिय रहेको मनसुन सुदूरपश्चिम पुगेको बताइएको छ ।
सोमबारसम्ममा देशभर मनसुन सक्रिय रहने मनसुनको प्रभावले आगामी तीन दिन आंशिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेकाले बाढीपहिरोे आउन सक्ने भनी सचेत रहन आग्रह गरिएको छ ।
राति देशका पश्चिमी भूभागहरुमा सामान्यदेखि पूर्ण बदली रही पूर्वी तथा मध्य भेगमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्