राजनीति

सांसद यादव पार्टीको सदस्यबाट निलम्बित



काठमाडौँ, ११ असार । समाजवादी पार्टी, नेपालले सांसद प्रदीप यादवलाई निलम्बन गरेको छ ।

गएको वैशाख २४ देखि २७ गतेसम्म युरोपेली राष्ट्र लाटभियाको राजधानी रिगामा स्वतन्त्र तिब्बत पक्षधर सांसदहरूको भेलामा नेपालबाट यादव र राजपाका सांसद एकबाल मियाँ सहभागी हुनुभएको थियो ।

पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद यादवलाई कारबाहीस्वरुप ६ महिनासम्म पार्टी सदस्यबाट निलम्बन गर्ने निर्णय गरिएको छ । सांसद पदबाट निलम्बन गर्ने नगर्ने कुनै निर्णय भने भएको छैन ।

लाटभिया भ्रमणबारे पार्टीले स्पष्टीकरण सोधे पनि यादवले जवाफ चित्तबुझ्दो नदिएपछि कारबाही गरेको हो ।