राजनीति

कुकुर व्यवस्थापनमा चाँगुनारायण नगरपालिका



भक्तपुर, १२ असार । छाडा छोडिएका कुकुरले स्थानीय र बिद्यालय जाने बिद्यार्थीहरुलाई टोक्न र दुख दिन थालेपछि चाँगुनारायण नगरपालिकाले कुकुर व्यवस्थापन अभियान शुरु गरेको छ । नगरपालिकाले छाडा कुकुर समातेर बन्ध्याकरण गरि रेविज भ्याक्सिन लगाएर कुकुर व्यवस्थापन गर्ने कार्य गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरञ्जिवी तिमिल्सिनाले जानकारी दिनुभयो ।

नगर क्षेत्रभित्र छाडा कुकुरको संख्या बृद्धि नहोस् भन्ने उद्देश्यले बन्ध्याकरण अभियान सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । त्यस्तै कुकुरले मानिसलाई टोकेर रेविज सर्न सक्ने खतरा न्युनिकरण गर्न नगर क्षेत्रमा भेटिएका सबै कुकुर समातेर रेविज भ्याक्सिन लगाउने कार्य गरिएको नगरपालिकाका पशु विकास अधिकृत ऋषिराम लामिछानेले जानकारी दिनुभयो ।

अभियान सञ्चालन भएपछि घर पालुवा कुकुरहरुको पनि रेविज क्याक्सिन लगाउने र बन्ध्याकरण गर्नेहरुको भिड बढेको छ । नगर क्षेत्रभित्र रहेका ६ सय कुकुर व्यवस्थापन गर्ने लक्ष्य नगरपालिकाको छ । अभियान १० दिनसम्म सञ्चालन हुनेछ ।