भक्तपुर, १२ असार । उठौं, जागौं हनुमन्ते सफा गर्न लागौं भन्ने मुख्य नाराका साथ शुरु गरीएको हनुमन्ते नदी सफाई अभियानको ७०औं हप्ता विशेषमा प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराको प्रमुख आतित्थ्यमा हुने बृहत राष्ट्रिय वृक्षारोपण तथा सरसफाई अभियान हुने भएको छ ।
हनुमन्ते नदी सफाई अभियान तथा दक्षिण बाराही उद्यान सामुदायिक बन उपभोत्ता समितिको संयुक्त आयोजनामा असार १४ गते शनिवारको दिन विहान ७ बजे देखी शंखधर चोकबाट शुरु भई दक्षिण बाराही पार्कमा पुगी वृक्षारोपण गर्ने कार्यक्रम तय भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले जानकारी दिनुभएको छ ।
सांसद बस्नेतको विशेष पहलमा शुरु गरीएको उक्त अभियानले पछिल्लो समय देशको उदाहरणीय बनेको छ । हुनमन्ते नदीको साथ साथमा भक्तपुरमा अरनीको राजमार्गको समेत सफाई अभियान भइरहेको छ । सफाई अभियान केवल सडक तथा नदीमा भएको फोहोरको व्यवस्थापन मात्र नभई मानिसको चेतना अभिवृद्धि गर्दै भक्तपुरमा हुने विभिन्न प्रकारका विकृति, हिंसा, अनियमितता, भ्रष्टाचार लगायतको न्युनिकरण गर्दै समृद्ध भक्तपुर, सुखी भक्तपुरका जनता बनाउने अभियान रहेको सांसद बस्नेतले बताउनुभयो ।
सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापाको संयोजकत्वमा रहेको उक्त अभियानमा भक्तपुरका जनताले स्वतस्फुर्त रुपमा राज्यको शुन्य लागतमा तिव्र गतिका साथ अभियान अघि बढीरहेको छ । त्यती मात्र नभई उक्त अभियानले राष्ट्रिय रुपमा नै ठूलो महत्व राखेको छ । कारण निर्वाचित जनप्रतिनिधि तथा स्थानीयवासीको सहकार्य तथा सद्भावको उदाहरण समेत भएको छ । हनुमन्ते नदी सफाई अभियान कै माध्यमलाई आत्मसात् गर्दै देशका विभिन्न ठाउँहरुमा समेत सफाई अभियानहरु सञ्चालन भइरहेका छन् ।










प्रतिक्रिया दिनुहोस्