काठमाडौँ, १४ असार । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले एसिड आक्रमणमा परेकी जेनी खड्कालाई पचास हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ ।
मन्त्री थापाले कीर्तिपुर अस्पतालमा उपचार गराईरहनुभएकी खड्काका आमा कमलाचन्द खड्कालाई शुक्रवार अस्पतालमै पुगेर पचास हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो । पैंतालिस दिनदेखि सो अस्पतालमा उपचार गराई रहनुभएको जेनीलाई डिस्चार्जका लागि रकम अभाव भईरहेको जानकारी पाएपछि उहाँले उक्त सहयोग प्रदान गर्नुभएको हो ।
खड्कालाई सहयोग गर्दै मन्त्री थापाले महिला हिंसा विरुद्धका कानुन कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । हिंसाले समाज परिवारको खुसी, शान्ति मात्र खोसिदैन । हिंसाले विकासलाई समेत पछाडि धकेल्छ भन्नुभयो । हिंसारहित सभ्य समाजको परिकल्पनालाई साकार पार्न समाजका हरेक तह, वर्ग, व्यक्ति संस्थाले सहकार्य, समन्वय गर्दै अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका महिला विकास अधिकृत अन्जु ढुङ्गानाले लैङ्गीक हिंसा निवारण कोषबाट तत्काल गर्न सकिने सहयोग जेनीलाई उपलब्ध गराएको बताउनुभयो ।
जेनी खड्काका आमा कमला चन्द खड्काले कलिलो उमेरकी छोरीको जीवन एसिड आक्रमणले जलायो । अस्पतालमा उपचार मात्र गर्न करिब तीन लाख भन्दा बढि लागेको छ । डेढ लाख पहिल्यै बुझाएका छौँ । अझै डेढ लाख तिर्न बाँकी छ, शरीर पुरै जलेर घाइते भएकी छोरीको पैसा अभावमै डिस्चार्ज गर्न समस्या भएको थियो । मन्त्रीज्युले अस्पतालमै आएर सहयोग गर्नुहुँदा ज्यादै खुसी लागेको छ भन्नुभयो ।
उहाँले विस्तारै अरु सहयोग पनि जुटे जेनीले छोराका लागि बाँचेर खाने थिई भन्नुभयो । सहयोग रकम प्राप्तपछि जेनीले मुस्काएर खुसी व्यक्त गर्नुभयो । सो अस्पतालका जनसम्पर्क अधिकृत तारानीधि भूर्तेलले जेनीको सातवटा सल्यक्रिया गर्दा दुईवटा निःशुल्क गरेको र अस्पतालमा रहँदा लाग्ने खर्चमा पनि २० प्रतिसत छुट गरेको जानकारी दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्