समाचार

ट्रकभित्र जबरजस्ती गर्ने दुई जना पक्राउ



तनहुँ, १४ असार । तनहुँमा महिलालाई ट्रकमा जबरजस्ती करणी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

विहीबार विहान ना १ क ४३४९ नम्बरको ट्रक मोरङ उर्लाबारी नगरपालिका-३ सूर्यचोकका चालक ३० वर्षीय विमल ढकाल र ३२ वर्षीय सह-चालक गोपाल भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले तनहुँको व्यास नगरपालिका-१२ छिर्कने स्थित पृथ्वीराजमार्ग सडक किनारमा ट्रक रोकेर जबरजस्ती करणी गरेका थिए । महिलालाई चालक र सह-चालक दुवैले जबरजस्ती करणी गरेको भन्ने सूचना प्राप्त भएपछि तनहुँ प्रहरीले ट्रकको खोजतलास गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई खोजतलासकै क्रममा व्यास-३ वीपी वनपाटीका चौरमा रोकेर ट्रकबाट रड अनलोड गरिरहेको समयमा प्रहरीले भेटाएको थियो । त्यसपछि घटनामा संलग्न रहेको आरोपमा चालक र सह-चालक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

शुक्रबार तनहुँ जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।