सम्पादकीय

वृक्षरोपण वर्ष घोषणा : ‘हरियाली बढाउनेभन्दा नोट फलाउने वृक्ष रोपौं’



सामुदायिक वनको सफलताले अन्तर्रा्ष्ट्रिय जगत्मा नेपालको नाम राखिरहेका बेला विज्ञहरुले सुझाव दिए, ‘नोट फलाउने वृक्ष रोपौं, हरियाली आफै बढ्छ ।’

विज्ञहरुले वृक्षरोपण अभियानलाई सफल बनाउन सशक्त प्राधिकरण गठन गर्न पनि सुझाव दिएका छन् । सरकारले असार १४ देखि लागु हुनेगरी वृक्षरोपण वर्ष घोषणा गर्दै यस दिनलाई वृक्षरोपण दिवस मान्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७६/०७७ भित्र पाँच करोड विरुवा रोप्ने महत्वकांक्षी योजना अघि सारिरहेका बेला सशक्त प्राधिकरणको खाँचो औल्याइएको हो । वृक्षरोपण कार्यको अगुवाई गर्न र रोपिएका विरुवाको निरन्तर हेरचाह गर्न तथा हुर्काउन–बढाउन पूर्ण सरकारी स्वामित्वको प्राधिकरण गठन गर्न विज्ञले सुझाएका हुन् ।

पूर्वगृह सचिव बालकृष्ण प्रसाईँ नेतृत्वको टोलीले वन तथा वातावरण मन्त्रालयलाई यस्तो निकाय गठन गर्न सुझाएको हो । प्रसाईंसहित वन विज्ञहरु गोविन्दप्रसाद काफ्ले, शेषहरि भट्टराई, डा. उदयराज शर्मा र कानूनविद् डा. विपिन अधिकारी संलग्न टोलीले स्वतन्त्र र शक्तिशाली प्राधिकरण गठन गर्न राय सुझाव दिएको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।