राजनीति

‘मिडिया काउन्सिल विधेयक’ संशोधन हुन्छ, आन्दोलन गर्नु पर्दैन : उपनेता नेम्वाङ



काठमाडौँ, २१ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदिय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेकपाले मिडिया काउन्सिल विधेयक संशोधन गर्न नेकपा प्रतिबद्ध रहेको बताउँदै आन्दोलन गर्नु नपर्ने बताउनुभएको छ ।

आफ्नै कार्यकक्ष सिहंदरबारमा मिडिया काउन्सिल विधेयक संशोधनको माग गर्दै पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य नेतृत्वको टोलीलाई नेम्वाङले विधेयक संशोधन गर्न सरकार सकारात्मक रहेको पनि बताउनुभयो ।

उहाँले पत्रकारको आन्दोलनकै कारण राष्ट्रिय सभामा पेश भएको मिडिया काउन्सिल विधेयकलाई अगाडि नबढाइ होल्ड गरेर राखेको बताउनुभयो । उहाँले सरकार विधेयक सच्याउन सकारात्मक रहेकाले आन्दोलन फिर्ता लिन आग्रह गर्नुभयो ।

सरकार पत्रकारकै हकहितमा रहेकाले यो विधेयक संशोधन हुने उहाँको भनाइ छ । विधेयकको पदाधिकारीको नियुक्तिको मापदण्ड, समाचार लेखेकै आधारमा कारबाही र जरिबानालगायतका बुँदा सच्चाउन महासंघले लिखित रुपमा ध्यानाकर्षण गराएको थियो ।