समाचार

टेलरिङ पसलमा लागूऔषधको कारोबार गर्ने दुई जना पक्राउ



ललितपुर, २३ असार । ललितपुर उपमहानगरपालिका-११ बाट नियन्त्रित लागूऔषध सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ललितपुर उपमहानगरपालिका-११ स्थित सुरेनको टेलरिङ पसलका संचालकद्वय रामेछाप दोरम्बा गाउँपलिका-७ का २५ वर्षीय सुरेन नगरकोटी र उनकी श्रीमती धादिङ थाक्रे गाउँपालिका-१० की २१ वर्षीय अजिता गुरुङ रहेका छन् ।

उनीहरुलाई नियन्त्रित लागूऔषध डाइजेपाम १ हजार ७ सय ८३ एम्पुल, बुप्रेनोर्फिन नुफिन २ हजार १ सय २१ एम्पुल, फेनारगन १ हजार २ सय १ एम्पुल, नगद १ लाख ५० हजार, विभिन्न कम्पनीका मोबाइल ३६ थान, आइप्याड ३ थान र पावर बैंक १ थान सहित प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले ललितपुर उपमहानगरपालिका-११ स्थित निजहरुको टेलरिङ पसलमा उक्त लागूऔषध सहितका सामान सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा सुरेनले विगत लामो समयदेखि लागूऔषधको कारोबार गदै आईरहेको र बरामद भएका मोबाइल सेट, आईप्याड र पावरबैंक धरौटी स्वरुप राखी लागूऔषध सेवनकर्ताहरुलाई उधारोमा लागूऔषध दिने गरेको खुल्न आएको उक्त ब्यूरोले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।