राजनीति

नेता नेपाल र श्रीलङ्काली नेताबीच भेटघाट



श्रीलंका, २७ असार । नेकपाका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले श्रीलंका शीर्ष नेताहरुसँग भेटघाट गरेका छन् ।

श्रीलंका भ्रमणमा रहेका नेता नेपाल श्रीलंका कम्युनिस्ट पार्टीद्वारा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथिका रुपमा भाग लिन कोलम्बो पुगेका हुन् ।

बिहीबार बरिष्ठ नेता नेपाल र श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंगे, सभामुख करु जयासूर्या, पूर्वराष्ट्रपति महिन्द्रा राजापाक्ष, श्रीलंका कम्युनिस्ट पार्टीका अध्यक्ष राजा कोलुरलगायतसँग भेटघाट भएको थियो ।

उक्त भेटमा नेपाल र श्रीलंकाबीचको मित्रतापूर्ण सम्बन्धका बारेमा चर्चा हुनुका साथै बुद्धको जन्मस्थान नेपाल र बौद्धमार्गी मुलुक श्रीलंकाबीच जनस्तरको सम्बन्ध विस्तारमा जोड दिइएको थियो ।

असार २३ गते कोलम्बो प्रस्थान गरेका नेता नेपाल असार २९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।