राजनीति

भारतले बनाएको बाँध भत्काएर पानी भारतीय बस्तीमा पस्यो



रौतहट, २८ असार । सिमानामा भारतले एकतर्फी रुपमा बनाएको बाँधका कारण गौर डुबानमा परेको छ । सिमाक्षेत्रमा सुरक्षाकर्मी थपे पनि पानीले अन्ततस् सो बाँध समेत भत्काएर पानी भारतीय भूमिका बग्न थाले पछि उक्त स्थानमा खैलावैला भएको छ भने नेपाली भूमिका भने केही मात्रामा राहत भएको छ । भारतीय भूमिमा पानी बग्न थालेपछि रौतहटमा क्रमिक रुपमा पानीको बहाव घट्न थालेको छ ।

सिमानाको बाँध भत्केर पानी बग्न थाले पछि गौर क्षेत्रमा जमेको पानी निकास हुन थालेको छ भने उता ‍भारतीय बस्तीहरु डुबानमा परेका छन् । विहारका बैरगनिया, अशोगी, भकुरहर, सिन्धुलियालगायत बस्दी डुबानमा परेपछि स्थानीयय बासिन्दा जोखिममा परेको बताइएको छ ।

भारतको बैरगनिया र रौतहटको गौरको बीचमा रहेको भारतीय बाँधका कारण सदरमुकाम गौरसहित रौतहटका अधिकांश बस्ती डुबानमा परेका छन् । अविरल वर्षाका कारण जिल्लाको बागमती नदी र बकैया नदीबाट तटबन्ध फुटाएर गौर आसपासका बस्तीमा बाढी पसेको थियो । भारतले बाँबाधेको बाधमा जमेर पानीले निकास नपाउँदा समस्या विकराल बनेको हो । नदीहरुमा जलसतह खतराको तहभन्दा माथि पुग्दा पनि बाँधमा भएका ढोकाहरु भारतीय पक्षले नखोलिदिँदा संकट निम्तिएको हो ।

यसैगरी बाढीले बकैया नदीको हर्साहा, भसेढवा, कटहरिया, बुनियाद, तेजापाकड, लौकाहा, बन्जरहा लगायतका दर्जन गाउँ उच्च जोखिममा छन् । यस्तै अर्को बागमती नदीको बाध भत्किएर गढिमाइ लक्ष्मिपुर, मत्सरी, गढो, बडहर्वा, बसतपुर, ब्रहम्पुरी, हजरिया लगायतका गाउँ उच्च जोखिमा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।