राजनीति

उद्धार र राहतमा एकजुट हुन आह्वान : राहत एकद्वार प्रणालीबाट वितरण गरिने



काठमाडौँ, २९ असार । सरकारले अविरल वर्षापछि आएको बाढी र पहिराका कारण प्रभावित भएको क्षेत्रमा उद्धार र राहतमा जुट्न सरकारी तथा गैरसरकारी सङ्घसंस्था, सुरक्षा निकाय तथा स्थानीय समुदायलाई आग्रह गरेको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले विपद् व्यवस्थापन समितिका विषयगत क्षेत्रलाई प्रभावित र जोखिममा रहेको व्यक्तिको राहत तथा आश्रयस्थलको व्यवस्थापनका लागि परिचालित हुन र संयुक्त राष्ट्रसङ्घ आवासीय प्रतिनिधिको कार्यालयलाई आवश्यक समन्वय गर्न अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको विशेष उपस्थितिमा गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेका उक्त बैठकले स्वास्थ्य, खानेपानी, सरसफाइ, आवास समन्वय तथा व्यवस्थापन, शीघ्र पुनर्लाभ, बन्दोबस्ती, सञ्चार, शिक्षा, कृषि, पोषण, संरक्षणको संयुक्त र छुट्टाछुट्टै बैठक राखी कार्य आरम्भ गर्न मातहतका निकायलाई निर्देशनसमेत दिएको छ ।

प्रभावित तथा सम्भावित जोखिममा रहेका व्यक्ति, परिवार तथा समुदायको तत्काल उद्धार तथा सुरक्षित आश्रयस्थलको व्यवस्था अझ प्रभावकारी बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, विभिन्न सङ्घसंस्था र समुदायलाई एकजुट हुन आह्वान गरेको हो ।

बैठकले आपत्कालीन सामग्रीको मौज्दात राख्न र सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा माग गर्दा उपलब्ध गराउन खाद्य संस्थान, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी, मानवीय सहायता समूह तथा सङ्घसंस्था र सरोकारवाला निकायलाई तयारीमा रहनसमेत निर्देशन दिने निर्णय गरेको छ ।