Banner News

राष्ट्रिय एकतालाई मजबुत बनाउन भानुजयन्तीले प्रेरणा दिन्छ : उपप्रम पोखरेल



काठमाडौँ, २९ असार । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सामाजिक सद्भावमा टिकेको राष्ट्रिय एकतालाई मजबुत बनाउन भानुजयन्ती जस्ता अवसरले प्रेरणा दिने बताएका छन ।

आइतबार काठमाडौँमा नेपाल प्रज्ञा–प्रतिष्ठानलगायत संस्थाको सहयोगमा भानु प्रतिष्ठानले आयोजना गरेको २०६ औँ भानुजयन्ती एवं राष्ट्रकवि माधवप्रसाद घिमिरेको समभिनन्दन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले पृथ्वीनारायण शाहले भौगोलिक रुपमा र आदिकवि भानुभक्त आचार्यले भाषिक रुपमा गरेको एकीकरणलाई सामाजिक सद्भावका साथ स्थायित्व दिनुपर्नेमा जोड दिए ।

उनले भने, ‘समृद्ध नेपाल र सुखी नेपालीका लागि सबै धनी हुनुपर्छ, यसका लागि नेपालीबीचमा एकता हुनु जरुरी, एकता खल्बल्याउनेहरु सक्रिय रहेकाले सबै सचेत हुनुपर्छ ।’

उक्त अवसरमा उचाइ बराबरको अभिनन्दनपत्रले सम्मानित राष्ट्रकवि घिमिरेले भानुजयन्ती सर्वप्रथम दार्जीलिङबाट मनाउन शुरु गरिएको र  विदेशमा बस्ने नेपालीले नेपाल राष्ट्र, नेपाली भाषा र संस्कृतिलाई फैल्याएको बताउदै उनले भने, ‘अहिलेको विश्वमा मानिसमा हृदय र पारिवारिकता हराउँदै गएको छ, ‘रामायण’मा उल्लेख भए अनुसार राम वनबास जाँदा भरतले खराउलाई सिंहासनमा राखेर राज्य गरेजस्तो पारिवारिकता फर्कोस्, भानुजयन्तीबाट हामीले त्यो सिक्न सकौँ ।’