काठमाडौँ, ४ साउन । नारायणी नदीमा सञ्चालन गर्न चार महिनादेखि निर्माणाधीन क्रुज मिनी पानीजहाजलाई नदीमा राखिएको छ । पानीबाहिर राखेर निर्माण गरिँदै आएको क्रुजको काम सकिएपछि पानीमा राखेर निर्माण सुरु गरिएको राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले जानकारी दिए ।
चैतबाट जहाज निर्माण थालेको कम्पनीले पानीमा राखेपछि आउँदो दशैँमा सञ्चालन गर्ने तयारी गरेको छ । तीन सय जना अटाउन सक्ने क्षमताको सानो आकारको ‘पानीजहाज’ निर्माणका लागि १५ फिट गहिरो पोखरी बनाइएको छ । भरतपुर महानगरपालिका–१६, काभ्रेघाटमा बनाइँदै गरेको जहाज १०० फिट लम्बाइ र २२ फिट चौडाइको रहेको निर्देशक कँडेलले जानकारी दिएका छन् ।
बुटवलबाट ल्याइएका विशेष प्रकारका दुईवटा क्रेनले शुक्रबार दिनभरि लगाएर जहाज पानीमा झारेका थिए । भारतबाट आएका प्राविधिक र नेपाली गरी ५० जना निर्माणमा खटिएका छन् । जहाज पार्किङ गर्ने स्थान पोर्ट निर्माणका लागि पाँच करोड रुपैयाँ लगानी भइसकेको कँडेलले बताए । यो समाचार आजको गोरखा दैनिकमा छापिएको छ ।










प्रतिक्रिया दिनुहोस्