राजनीति

आज ३७ औं विपी स्मृति दिवस : विभिन्न कार्यक्रम गरिँदै



काठमाडौँ, ६ साउन । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३७ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । २०१५ सालको आमनिर्वाचनमा काँग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभएको थियो ।

उहाँले प्रवर्द्धन गरेको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक मानिन्छ । आफ्नो प्रधानमन्त्रीकालमा उहाँले गाउँको विकास, भूमिसुधार र सामन्तवाद अन्त्य गर्न विभिन्न नीतिगत योजना निर्माण र कार्यान्वयन गर्नुभएको थियो । विपी स्मृति दिवसका अवसरमा कांग्रेस, भ्रातृ संस्थाले विभिन्न कार्यक्रम गर्दैछन् ।

दिवसका अवसरमा नेपाली काङ्ग्रेस र विपी सङ्ग्रहालय समितिले देशैभर विभिन्न कार्यक्रम गर्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । सङ्ग्रहालय समितिले तेह्रथुमका तेजमान तुम्बाहाम्फे, सुनसरीका रवीन्द्र राई र मिसरु मियाँलाई संयुक्त रुपमा प्रजातन्त्र सेनानी पुरस्कार प्रदान गर्ने कार्यक्रम छ ।

उहाँले नेपाली साहित्यका क्षेत्रमा कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’ र ‘बाबु, आमा र छोरा’ गरी ६ वटा उपन्यास प्रकाशित छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’ प्रकाशित छ । यस्तै सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित आत्मवृतान्त ‘जेल जर्नल’ प्रकाशित छ ।

विपी कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो ।