समाचार

मठाधीशहरूले नै धमाधम गुठीका जग्गा बिक्री गर्दै



काठमाडौँ, ६ साउन । गुठीअन्तर्गतको जग्गा बिक्री गरेर भ्रष्टाचार गर्ने विभिन्न गुठीका मठाधीशहरूको कर्तुत एकपछि अर्को गर्दै खुल्न थालेका छन् । देशका विभिन्न भागमा रहेका गुठी जग्गाको संरक्षण गर्ने जिम्मेवारीमा रहेका मठाधीशहरूले नै धमाधम जग्गा बिक्री गर्दै अनियमितता गर्न थालेपछि उनीहरू धमाधम कारबाहीमा पर्दै जान थालेका छन् । मुलुकका विभिन्न जिल्लामा बिक्री गरिएका गुठीका हजारौ बिघा जमिन रोक्का गरिएको छ । रूपन्देहीको मटिहानी गुठीकोे जग्गा व्यक्तिलाई बिक्री गर्ने एक मठाधीश कारबाहीमा परेसँगै जग्गा बिक्री गरी खाने अन्य मठाधीशहरूको समेत खोजतलास थालिएको हो ।

गुठीअन्तर्गतको जग्गा व्यक्तिलाई बेचेको आरोपमा गुठी संस्थानले मटिहानी गुठीका मठाधीश जगन्नाथदास वैष्णवलाई निलम्बन गरी कारवाही प्रक्रिया अगाडि बढाएकोे छ । वैष्णवमाथि कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ । अख्तियारले समेत गुठीको जग्गा बिक्री गर्नेहरू माथि छानबिन थाल्ने जानकारी दिएको छ ।

मठाधीश वैष्णवले गुठीअन्तर्गतको झन्डै ३ करोड मूल्य बराबरको ३ कठ्ठा ५ धुर जग्गा दुई व्यक्तिलाई बेचेका थिए । संस्थानले छानविन प्रभावित हुने भन्दै मठाधीश वैष्णवलाई निलम्बन गरी कारबाहीको प्रक्रिया अगाडि बढाएको बताएको छ । यो समाचार राजधानी दैनिकमा छ ।