राजनीति

‘विप्लव’ समूहका इञ्चार्ज र सेक्रेटरी पक्राउ



म्याग्दी, ७ साउन । प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका इन्चार्ज तथा सेक्रेटरी गरी दुई नेता पक्राउ परेका छन् ।

तत्कालीन धवलागिरि ब्यूरो सदस्य हाल म्याग्दी इञ्चार्ज कमानसिंह नकाल क्षेत्री (विकिरण) र म्याग्दी जिल्ला सेक्रेटरी बाबुलाल शाक्यलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई सोमबार साँझ म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीस्थित नयाँपुलबाट पक्राउ गरेको म्याग्दीले जनाएको छ ।

पक्राउ परेका नेताद्वयलाई म्याग्दी जिल्लाको स्थानीय पालिकामा निर्वाचित जनप्रतिनिधि, व्यापारी तथा सरकारी कर्मचारीलाई धम्क्याएर जबरजस्ती चन्दा असुली गर्ने गरेको प्रहरी प्रहरीको भनाइ छ । यसैगरी गएको फागुन ११ गते राति म्याग्दीका ५ ओटा एनसेलको टावरमा भएको आगजनीमा समेत संलग्न भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका क्षेत्री र शाक्यको साथबाट ध१प २१७० नम्बरको यामाहा मोटरसाइकल र तीन ओटा मोबाइल सेट बरामद गरिएको छ ।