समाचार

गुल्मीमा पहिरोमा परि छ जनाको मृत्यु, दुई जना घाइते



गुल्मी, ७ साउन । गुल्मीको छुट्टा–छुट्टै स्थानमा गएको पहिरोमा पुरिएर छ जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) यदुनाथ पौडेलका अनुसार गएरातिदेखि परेको अविरल वर्षाले सुतिरहेको अवस्थामा घर पुरिँदा सत्यवती गाउँपालिकाको वडा नम्बर ३ र ४ का घर पहिरोले पुरिँदा ६ जनाको मृत्यु भएको हो ।

सत्यवती गाउँपालिका–३, ठूलोलुम्पेक कसिन डाँडामा पहिरोले घर पुरिँदा ३२ वर्षीया तीलकुमारी त्रामु र ९ वर्षीय दर्शन त्रामुको मृत्यु भएको छ । सोही गाउँपालिका वडा नम्बर ४ को लिम्घामा पहिरो जाँदा ६५ वर्षीय छल्लली बिक, २८ वर्षीय पम्फा बिक, १२ वर्षीय अञ्जली बिक र १० वर्षीय हेमन्त बिकले ज्यान गुमाएको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएर २ जना घाइते भएका छन् । सत्यवती–४ कि १० वर्षीया करिश्मा त्रामु र १३ वर्षीय धनी त्रामु घाइते भएको प्रहरीले जनाएको छ ।

उद्धार तथा राहतका लागि ३ वटै सुरक्षा निकायको टोली घटनास्थलतर्फ पठाइएको प्रजिअ पौडेलले बताए ।