राजनीति

काठमाडौँमा पहिलो पटक चल्ने बिजुली बस : स्मार्ट पेमेन्ट सिस्टम साथै सञ्चालन खर्च न्यून



काठमाडौँ, ९ साउन । काठमाडौँमा पहिलो पटक चल्ने विजुली बस आधुनिक प्रविधियुक्त, स्मार्ट पेमेन्ट सिस्टम साथै सञ्चालन खर्च न्यून भएका हुने भएसँगै जनताले वातावरण प्रदुषणबाट केहीमात्रामा छुटकारा पाउने तथा सहज रुपमा सुरक्षित यात्रा गर्न पाउने भएका छन् ।

सरकारले साझा यातायातमार्फत ३ सय वटा विद्युतीय बस ल्याउने तयारी गरिरहँदा सुन्दर यातायात प्रालिले चीनबाट १८ वटासम्म बिजुली बस भित्र्याउन चिनियाँ बस निर्माता कम्पनी गोहाङ अटोमोबाइल कम्पनीसँग हालै सम्झौता गरेको छ । सुन्दरले काठमाडौँसहित देशमा मुख्य शहरहरुलाई लक्षित गर्दै चीनको ‘बीएके’ ब्रान्डका विद्युतीय बसहरु भित्र्याउँदै छ । हालै चीन पुगेर कम्पनीको टोलीले थप ११ वटा विद्युतीय बस भित्र्याउने गरी समझदारी गरेको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिनुभयो ।

कम्पनीले यसअघि ७ वटा बस नेपाल ल्याउन कम्पनीसँग समझदारी गरिसकेको थियो । त्यसमध्ये २ वटा बस नेपालका लागि हिँडिसकेको छ । तत्कालै २५ वटा बिजुली बस ल्याउने योजनामा कम्पनी रहेको जनाइएको छ । उक्त बस एक करोड ६२ लाख मूल्यको हो । सरकारले साझामार्फत विद्युतीय बस ल्याउनुभन्दा अगाडि नै सुन्दर यातायातले काठमाडौंमा आफ्नै बस गुडाइसक्ने लक्ष्य लिएको छ । अध्यक्ष थापाले नेपालमा विद्युतीय बसकको युग सुरुआत गर्न आफूहरु आतुर रहेको बताउनुहुन्छ ।