काठमाडौँ, ११ साउन । सरकारले दिएको वृद्धभत्ता कुन काममा खर्च हुन्छ ? आफ्नो उपचारमा, घरायसी वा व्यक्तिगत काममा । तर मुगुमा एक व्यक्तिले वृद्धभत्ता जम्मा गरेर गाउँमा धर्मशाला बनाउन थालेका छन् ।
सरकारले सामाजिक सुरक्षाबापत मासिक उपलब्ध गराउँदै आएको रकम जम्मा गरेर मुगुम कार्मारोङ गाउँपालिका–९ पापुगाउँका ८५ वर्षीय जयखर ऐडी धर्मशाला निर्माणमा जुटेका हुन् । वृद्धभत्ताबापत उनले मासिक दुई हजार रुपैयाँ बुझ्दै आएका छन् । ऐडीले रकम जम्मा गरेर सार्वजनिक जग्गामा धर्मशाला बनाउन थालेको बताए। धर्मशाला बनाउन उनले ५० हजार रुपैयाँ जम्मा गरेका छन् ।
धर्मशालाका लागि दुई बन्डल जस्तापाता, काठ र ढुंगा जम्मा गरिसकेको ऐडीले बताए । लगातारको वर्षात्का कारण निर्माण भने सुरु हुन सकेको छैन । उनी वर्षात् रोकिएलगत्तै धर्मशाला बनाएर हस्तान्तरण गर्ने हतारमा छन्। जयखर भन्छन्, ‘सरकारले मेरा लागि बुढेसकालमा भत्ता दियो, मैले सरकारलाई के दिएँ र ? यो भत्ता सामाजिक काममा खर्च गर्छु, भोलि मेरो मृत्युपछि पनि काम लागोस् ।’
उनका परिवारले भत्ताबापतको रकम खर्च गर्न बारम्बार आग्रह गरे । परिवारका सदस्यले धर्मशाला बनाइदिने वचन पनि दिए। तर जयखरले मानेनन् । आफैं कस्सिएर सामान जुटाउन थालेको नाति उत्तम रोकायाले बताए। आफ्ना छोरा नभएका कारण उनी छोरी र ज्वाइँसँग बस्दै आएका छन् ।
वृद्धभत्ता जोगाएर जयखर अगाडि सरेपछि बाँकी निर्माण कार्यमा सहयोग गर्ने वचन गाउँलेले दिएका छन् । तर जयखरले कसैको सहयोग नलिने बरु रकम अभाव भएमा आउने भत्ताबाट तिर्ने बताए ।
मुगुम कार्मारोङ गाँउपालिका–९ का वडाध्यक्ष बिर्खबहादुर बुढाले धर्मशाला निर्माणमा वडाले पनि सहयोग गर्ने बताए । हिमपात परेका बेला गाउँमा सार्वजनिक काम गर्ने स्थानको अभाव छ । गाउँलेको मृत्युमा पनि कर्मकाण्ड गर्दा समस्या भएको देखेपछि आफूले धर्मशाला बनाउने योजना बनाएको जयखरले सुनाए । अझ केही वर्ष बाँचेमा थप सार्वजनिक काममा लगानी गर्ने योजना पनि उनले सुनाए । गाउँपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाले अन्य निकाय तथा समुदायको सहयोग नलिने अडान गरेकाले जयखरलाई चाहेर पनि गाउँपालिकाले सहयोग गर्न नसकिएको बताए । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।
प्रतिक्रिया दिनुहोस्