विश्व

मलेसियामा १० अर्ब डलरको रेल परियोजना शुरु



एजेन्सी, ११  साउन । मलेसियामा १० अर्ब डलरको रेल परियोजना शुरु गरेको छ ।

रेल निर्माणमा केही प्राविधिक फेरबदल र लागत कटौती गरेसँगै करिब १० अर्ब डलरको उक्त परियोजना बिहीबारदेखि विधिवत रुपमा शुरु भएको हो ।

यो रेलमार्गले थाइल्यान्डसँगको सीमा नजिकको उत्तरपूर्वी मलेसियालाई पश्चिमको प्रमुख बन्दरगाह शहर मलक्कालाई जोड्नेछ ।

मलेसियाका यातायात मन्त्री एन्थोनी लोकले रेल निर्माणको शिलान्यास गर्दै यस परियोजनाले मलेसियाको पूर्वी क्षेत्रका ग्रामीण इलाकाको सार्वजनिक यातायातमा व्यापक सुधार ल्याउने विश्वास व्यक्त गरे ।

चीनको महत्वाकाँक्षी बेल्ट एन्ड रोड (बिआरआई) परियोजनाकै एक भागका रुपमा लिइएको यस परियोजनालाई मलेसियाको वर्तमान सरकारले रोकेको थियो । मलेसियाको पूर्ववर्ती सरकारसँग भएका यस्तै परियोजनालाई मलेसिया सरकारले कार्यान्वयनमा ल्याएको छैन ।

चिनियाँ लगानीका सबैजसो परियोजनामा पारदर्शिताको कमी रहेको आलोचकहरुको भनाई छ । इस्ट कोस्ट रेलसेवा पुनः निर्माण आरम्भ गर्ने बारेमा मलेसिया र चीन सरकारबीच लामो समयदेखि छलफल जारी थियो । गत अप्रिलमा लागत घटाउने र रेलसेवाको दूरीलाई पनि समायोजन गर्ने सहमति भएपछि रेल निर्माणको कार्य अघि बढेको हो । अब रेल निर्माणको कार्य सन् २०२६ सम्ममा पूरा हुनेछ ।