Banner News

नेपाल-भारतबीचको व्यापार र लगानी उच्च प्राथमिकतामा : प्रधानमन्त्री ओली



काठमाडौँ, १३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको व्यापार र लगानीलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन ।

आइतबार काठमाडौँमा ‘नेपाल–भारत पारवहन सहजीकरण सम्मेलन’को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालको व्यापारको ठूलो हिस्सा भारत र भारतबाटै हुने भएकाले त्यसलाई अझै सहज ढंगले अघि बढाउनुपर्नेमा पनि जोड  दिएका छन ।

उनले सडक र रेल सेवाको विस्तार गरेर दुई मुलुकबीचको व्यापारलाई सहज बनाउन नेपाल सरकार लागि परेको बताउदै दुवै मुलुकको आर्थिक विकास र जनतासँगको सम्बन्धलाई विस्तार गर्न पनि पारवहन सहजीकरणमा जोड दिनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले लगानीकर्ताको सहजीकरणका लागि ‘सार्वजनिक–निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन’, ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी ऐन’ लगायतका ऐन कार्यान्वयनमा रहेको र लगानीकर्ताको सहजीकरणका लागि एकल बिन्दु सेवा केन्द्रसमेत सञ्चालनमा आइसकेको बताउदै उनले भने, “हामी भारतलगायत संसारभरका लगानीकर्तालाई लगानीका लागि आग्रह गर्दछौँ ।”

राजनीतिक स्थायित्वसहितको वर्तमान सरकार गठन भएको, लगानीको भरपर्दो वातावरण सिर्जना गरिएको, आर्थिक विकास र समृद्धि नै सबैको साझा लक्ष्य रहेकाले पनि नेपाल लगानीका लागि सुगम र भरपर्दो गन्तव्य भएको बताए ।