Banner News

पुर्खा अनुसन्धाता र आविष्कारक थिए, पात र जराबाट आयुर्वेदको विकास गरे : प्रम ओली



काठमाडौँ, १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्खाहरु अनुसन्धाता र आविष्कारक रहेका र उनीहरूले पात र जराबाट आयुर्वेदको विकास गरेको बताएका छन ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा ग्लोबल हिन्दू फेडरेसनका अध्यक्ष प्रदीपकुमार कुक्रेजाको नेतृत्वमा आएको ३० सदस्यीय प्रतिनिधि मण्डलसँग कुरा गर्दै प्राच्य सभ्यता र मौलिक संस्कृतिको सकारात्मक पक्ष एवं गौरवमय विगतका बारेमा बताएका हुन ।

उनले भने, ‘हाम्रा पूर्खा अनुसन्धाता र आविष्कारक थिए, उनीहरुले सबै बिरुवाका पात र जराको परीक्षण गरी औषधिको विकास गरे, आयुर्वेदको विकास गरे ।, हिन्दूवादका नाममा हामीले अन्धअनुशरण गर्नु हुँदैन, हाम्रा पूर्खाले कुनै पनि कुरा परीक्षणपश्चात मात्र विश्वास गर्नुपर्दछ भनेका छन् । आज पश्चिममा प्रयोगशालाबाट प्रमाणित गर्ने कुरा गर्दछन्, तर हाम्रा पूर्खाले उहिल्यै परीक्षण र पुष्टिको कुरा गरेका थिए ।’

हाम्रो गौरवमय परम्परा र विज्ञानबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताउदै उनले भने, ‘यही धर्तीमा वेद र पुराणको रचना भएको थियो, कोशी र गण्डकीको किनारमा । यो भूमि सभ्यताको जन्मभूमि हो ।’