विश्व

ब्राजिलको एक जेलमा कैदीहरुबीच झडप हुँदा कम्तिमा ५२ जनाको मृत्यु



काठमाडौँ, १४ साउन । ब्राजिलमा कैदी बन्दीबीच झडप हुँदा कम्तिमा ५२ जनाको मृत्यु भएको छ ।

पारा राज्यको अल्टामिरा जेलमा करिब पाँच घण्टासम्म झडप भएको थियो । स्थानीय समयअनुसार बिहान ७ बजेबाट सुरु भएको झडप मध्याह्नमात्र नियन्त्रणमा लिइएको थियो ।

उक्त झडपमा परि कम्तिमा ५२ जनाको मृत्यु भएको छ भने १६ जनाको शीर छेदन गरिएको छ । झडपको क्रममा जेलभित्रै आगो लगाइएको थियो र धुँवाको कारण श्वासप्रस्वासमा समस्या आएर पनि केहीको मृत्यु भएको बताइएको छ ।

स्थानीय मिडियाहरुका अनुसार जेलको एकातर्फ रहेका कैदीहरु अर्कोतर्फ बसेका कैदीहरुको समूहमा पुगेपछि सुरु भएको विवादले झडपको रुप लिएको हो । कैदीबन्दीहरुले जेलका दुई अधिकारीलाई बन्धक पनि बनाएका थिए । यद्यपि उनीहरुलाई कैदीको नियन्त्रणबाट मुक्त गराइसकिएको छ ।

ब्राजिलका सञ्चारमाध्यमहरुका अनुसार अल्टामिरा जेलको क्षमता २ सय रहे पनि ३ सय ११ जना कैदीलाई राखिएको थियो ।