काठमाडौँ, १५ साउन । नेपाल प्रहरीका एसपीदेखि जवानसम्मका २ सय ५६ जना कर्मचारीको जागिर चट भएको छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठनभित्र बदमासी नियन्त्रणलाई कडाई गरेसँगै एक वर्षमा भ्रष्टाचारसहितका गम्भीर गल्ती गर्ने २५६ प्रहरीले जागिर गुमाउने परेको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार जागिर गुमाउनेमध्ये २४९ लाई सेवाबाट हटाइएको र सात जनालाई बर्खास्त गरिएको हो । यसरी सेवाबाट हटाइएकामा एक एसपी, दुई इन्स्पेक्टर, पाँच सइ, ११ असइ, २४ हवल्दार, एक सय ९५ जवान र ११ जना कार्यालय सहयोगी रहेको प्रहरी प्रधान कार्यालयको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै, १/१ जना असइ र सइ, दुई हवल्दार, दुई जवान र एक कार्यालय सहयोगीलाई बर्खास्त गरिएको छ । सेवाबाट हटाइएका सबैभन्दा माथिल्ला अधिकारीमा कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट रहेका छन ।
प्रहरीका विभागीय कारबाहीमा घटुवा, ग्रेड घटुवा, ग्रेड रोक्का, पदोन्नति रोक्का, नसियत, निलम्बनलगायत रहेका छन । विभागीय कारबाहीमा पर्नेमा दुई एसएसपी र तीन एसपी छन । त्यस्तै, दुई डिएसपी, १९ इन्स्पेक्टर, ७१ सइ, एक सय ३८ असइ, तीन सय ५९ हवल्दार, एक हजार एक सय ८३ जवान र २३ कार्यालय सहयोगी छन । धेरैमाथि नसियतको कारबाही भएको छ ।










प्रतिक्रिया दिनुहोस्